Logo

मुख्य समाचार

दाङमा सुतली बम पड्काएर भाग्ने क्रममा दुईजना पक्राउ



देउखुरी (दाङ) । घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार (आज) बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुईजनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

प्रहरी प्रवक्ता तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एकजनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेको बताए । उनले भने, “सुतली बम चर्को आवाजमा पड्केको थियो ।”

प्रहरी प्रवक्ता तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५, निवासी अभियान थापा र सोही क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवैजनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् ।

यस विषयमा थप अनुसन्धान भइरहेको तिमल्सिनाले जानकारी दिए । उनका अनुसार मोटरसाइकलमा आएका दुईजनामध्ये थापाले क्याम्पस अगाडि सडकमा बम फालेका थिए ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  १२ : १८ बजे