Logo

मुख्य समाचार

बेइमानी गर्ने नियतले गैरसहकारी तत्वहरु घुसेका कारण सहकारीप्रति निष्ठा रहेन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरसहकारी तत्वहरु बेग्लै उद्देश्यले सहकारीमा प्रवेश गरेका कारण केही सहकारीहरुमा समस्या उत्पन्न भएको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारी सञ्चालन गर्न नजानेर नभई गैरसहकारी तत्वहरु सहकारीमा घुसेका कारण सहकारीहरुप्रतिको निष्ठा नरहेको बताएका छन् ।

वर्तमान सरकार सहकारीमा देखिएका सबै समस्याहरुको समाधान गरेर अगाडि बढ्ने प्रधानमन्त्री ओलीको दाबी छ ।

उनले भने, ‘सहकारी अचानक ठुला भए । सहकारीका मूल्य मान्यता अनुसार चलेनन् । सम्पुर्ण सहकारी बचतकर्ताको विश्वास कम गर्ने प्रवृति हावि भयो । हुन त हजारौं सहकारीमध्ये केहीमा समस्या भएको हो । गैरसहकारी तत्वहरु सहकारीमा घुसे । सहकारीहरु गर्दागर्दै नजानेर होइन कि गैरसहकारी तत्वहरु बेग्लै उद्देश्यले प्रवेश गरे । त्यसले सहकारी प्रतिको निष्ठा रहेन । सहकारीमा बेइमानी गर्ने नियतले केही मान्छेहरु प्रवेश गरे । अब सबै सहकारीहरुमा देखिएका समस्याहरु समाधान गरेर अगाडि बढ्छौं । अगाडि बढाउनुपर्छ ।’

हजारौंमध्ये केही मात्र सहकारीहरुमा समस्या देखिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशभर सहकारीको सञ्जाल विस्तार गरेर लैजानुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, उनले उद्योग, कृषिको आधुनिकरणसँग सम्बन्धित साना उद्योगहरुको स्थापनासँगै सेवा क्षेत्रमा नविन सोचका साथ अगाडि बढ्न अनुकुल वातावरण बनेको बताए ।

‘विभिन्न क्षेत्रमा स्टार्टअप अगाडि बढाएर लैजानुपर्छ । उद्योग, कृषिको आधुनिकरणसँग सम्बन्धित साना उद्योगहरुको स्थापना र अन्य क्षेत्रहरुबाट काम अगाडि बढाउने र सेवा क्षेत्रलाई गति दिनका लागि नविन सोचका साथ नयाँ भावनाका साथ अगाडि बढ्न आवश्यक रहेको छ । स्टार्टअपका लागि अनुकुल वातावरण बनेको छ,’उनको भनाइ छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ११ : ५२ बजे