Logo

मनोरञ्जन

‘बुलाकी’ हेरेपछि नेताहरुको प्रतिक्रियाः ‘फिल्म कर्णालीको सांस्कृतिक ऐना हो’



काठमाडौं । पूर्वगृह तथा उर्जामन्त्री शक्ति बस्नेतले गत शुक्रबारबाट प्रदर्शनरत नेपाली चलचित्र ‘बुलाकी’लाई कर्णालीको सांस्कृतिक तथा सामाजिक दर्पण बताएका छन् । राजधानीको विश्वज्योति हलमा आयोजित विशेष प्रदर्शनीमा फिल्म हेरिसकेपछि बस्नेतले फिल्मले कर्णालीको सांस्कृतिक पक्षलाई यथार्थ चित्रण गरेको बताए ।

‘म आफु पनि कर्णालीको मान्छे, चलचित्र हेरिरहँदा गाउँघरमै पुगेको जसरी नजिकपन महसुस भयो । त्यहाँको स्थानीय रहनसहन र जनजीवनलाई विशिष्ट तरिकाले उठान गरिएको पाएँ, बस्नेतले भने,‘आजको दिनमा पनि छिटफुट रहिरहेको जारी प्रथा र छाउपडी प्रथाको वास्तविकता चलचित्रले बोलेको छ, प्रस्तुति उत्कृष्ट छ ।’ किताबमा पढ्न पाइने इतिहासलाई पर्दामा यसरी जीवन्त ढंगले प्रस्तुत गरिँदा नेपाली समाजको एक समयको कालखण्डलाई दर्शकको माध्यमबाट पर्दामा हेर्न पाउनुलाई अबसर भन्दै छुटाउन नहुने उनको भनाइ छ ।

हिजोको दिनमा मूल प्रवृतिको रूपमा रहेको सामाजिक पक्षलाई आजको पुस्ताले नजिकबाट पर्दामा हेर्न पाउने अबसर प्रदान गरेकोमा बस्नेतले बुलाकी निर्माण टिमलाई बधाइ दिए ।

‘सम्पूर्ण कलाकारहरूको अभिनय जीवन्त लाग्यो, चलचित्रले उठाएको कथा र यसको प्रस्तुति अब्बल छ,’ उनले भने,‘बुलाकी कर्णालीको सजीब चित्रण हो ।’ चलचित्र निर्माण पक्ष र कलाकारको अभिनयमा शब्द खर्चिएका बस्नेतले विगतको अवस्था परिवर्तनको बाटोमा रहेको भन्दै परिवर्तन र आधुनिकताको नाममा इतिहासलाइ भने विर्सिन नहुने बताए ।

वस्नेतसँगै नेकपा एसका नेता पूर्वमन्त्री प्रकाश ज्वालाले फिल्मलाई उत्कृष्ट रहेको प्रतिक्रिया दिए । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ुबुलाकीुले समिक्षक तथा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । लक्ष्मण सुनारको निर्देशनमा बनेको यो चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज बिष्ट प्रमुख अभिनयमा छन् । छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा यो चलचित्र बनेको हो । फिल्मले पश्चिम नेपालको विशेषतः कर्णाली र सुदूर पश्चिममा हालसमम पनि विद्धमान जारी प्रथालाई सुन्दर ढंगले उठान गरेको छ । दर्शकबाट प्राप्त ‘वर्ड अफ माउथ’ले फिल्मको आगामी व्यापारले थप मद्धत पुग्ने विश्वास निर्माण टिमको छ ।

फिल्म राजधानी र मोफसलका अधिकांश शोजहरू हाउसफूल रहेको निर्माण पक्षको दाबी छ । हाउसफुल भएको स्कृनसटसहितको अपडेट निर्माता तथा कलाकार विराज बिष्टले सामाजिक सञ्जालमा सार्वजनिक नै गरेका थिए ।

यसअघि राजधानीमा आयोजित विशेष प्रदर्शनीमा पूर्व उपप्रधानमन्त्री भीम रावल, चर्चित गायक प्रकाश सपूत, गायिका मञ्जु पौडेल, निर्देशक आकाश अधिकारी, नरेश पौड्याल, अभिनेता पुष्प खड्का लगायतले फिल्म हेरिसकेपछि उत्कृष्ट प्रतिक्रिया दिएका थिए ।

पूर्व पप्रधानमन्त्री रावलले पश्चिमेली समाजको यथार्थता फिल्मले पस्केको भन्दै फिल्मले बोकेको पश्चिमेली भाषामै दर्शकलाई सम्बोधन गर्दै नेपाली कला संस्कृति बुझ्न यो फिल्म हेर्न आग्रह गरे । गायक सपूतले ‘बुलाकी’ नेपाली समाजको एक दस्तावेज भन्दै छुटाउन नहुने फिल्मको सुचीमा राख्नुपर्ने र सबैले हेर्नुपर्ने फिल्म बोले ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  १ : ३३ बजे