Logo

मुख्य समाचार

गाईजात्राले विकृति र विसङ्गति उजागर गर्ने पर्व : सभामुख घिमिरे



काठमाडौं । सभामुख देवराज घिमिरेले गाईजात्राले नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलासँगै विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

गाईजात्राका अवसरमा मंगलबार शुभकामना व्यक्तव्य जारी गर्दै सभामुख घिमिरेले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेको उल्लेख गर्दै समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको बताए ।

गाईजात्रा नेवार संस्कृतिबाट प्रारम्भ भएकाले काठमाडौं उपत्यका तथा देशविदेशमा नेवारहरूको बसोबास भएका सहरमा विशेष महत्वका साथ मनाइन्छ । नेवार समुदायमा वर्षदिनभित्र दिवङ्गत पितृको सम्मान तथा मुक्तिका लागि गाईजात्रा मनाउने प्रचलन छ ।

गाईलाई नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका पितृहरूले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्राका सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ ।

‘नेपाल बहुजातीय, बहुधार्मिक बहुसांस्कृतिक मुलुक हो । हाम्रा धार्मिक, सांस्कृतिक एवं परम्परामा आधारित चाडबाडले सामाजिक एकतासँगै समाजलाई अनुशासित र लोककल्याणकारी बनाउन ठूलो योगदान दिएका छन् । धर्म, संस्कार, संस्कृति, सामाजिक मूल्य र मान्यताका कारण नेपाललाई विश्वमै सांस्कृतिक वैभवशाली मुलुक मान्ने गरिएको छ’, शुभकामना सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ८ : ४० बजे