Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

समाचार

लैनो भैँसीपालन गर्ने किसानलाई अनुदान



पाल्पा । लैनो भैँसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई रु ४० हजार अनुदान उपलब्ध गराएको हो । 

व्यावसायिकरूपमा भैँसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेनका नगरप्रमुख अशोककुमार शाहीले बताए । लैनो भैँसीपालन गरिरहेका किसानलाई यो सुविधा पाउन थप एउटा लैनो भैँसीपालन गरी दुईवटा पुर्‍याउनुपर्ने छ । किसानलाई व्यावसायिक बनाउने र पशुपालनका माध्यमबाट ग्रामीण क्षेत्रमा बसी प्रशस्त आम्दानी गर्ने बानीको विकासका निम्ति अनुदान प्रदान गरिएको नगरप्रमुख शाहीले बताए । तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास सङ्घ र हेफर परियोजनाको सहयोग भैँसीपालनका क्षेत्रमा सहयोग गरिएको हो ।

चालु आर्थिक वर्ष २०७८÷७९ मा नगरपालिकाभित्रका किसानलाई १०० लैनो भैँसी थप गर्ने योजना छ । सोहीअनुसार ६९ लैनो भैँसी थप गर्ने किसानलाई रु २९ लाख अनुदान वितरण गरिएको हो । तानसेन नगरपालिकाको चौवनबारी, पदमटारी र बन्दीपोखरा क्षेत्रमा व्यावसायिकरूपमा दूध उत्पादन गर्न भैँसीपालन कार्यक्रमलाई प्रोत्साहन गरिएको साझेदारी संस्था ग्रामीण आर्थिक विकास सङ्घका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए।

तानसेन नगरपालिका–७ र १३ नं वडामा लैनो भैँसीपालनलाई अनुदान वितरण गर्ने योजना रहेको छ । यो कार्यक्रममा सहभागी हुने किसानलाई स्थानीय सरकारले घाँस तथा प्राविधिक सहयोग गरिएको जनाएको छ । किसानले उत्पादित दूध बजारसम्म पुर्‍याउन चाहिने सामान सहयोग गर्ने योजना रहेको निर्देशक कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ३ : २२ बजे