Logo

अर्थ

ग्लोबल आइएमई बैंकको १५ औं वार्षिक साधारणसभाबाट १३.५ प्रतिशत लाभांश पारित



काठमाण्डाैँ: ग्लोबल आइएमई बैंक लिमिटेडको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा सम्पन्न भएको १५ औँ वार्षिक साधारणसभाले सोमबार कूल १३.५ प्रतिशत लाभांश पारित गरेको छ। आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश पारित गरेको हाे । 

बैंकले आर्थिक वर्ष २०७७/७८ मा सात अर्ब नौ करोड रुपैयाँ सञ्चालन मुनाफा र करपछिको मुनाफा चार अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरण पश्चात बैंकको चुक्तापुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ ।

बैंकको खुद मुनाफा आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा ४३.२० प्रतिशतले वृद्धि भई चार अर्ब १६ करोड रुपैयाँ पुगेको छ । हाल बैंकले दुई खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै दुई खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको जनाएको छ । 

सबै क्षेत्र-वर्गसम्म बैंकिङ्ग सेवा पहुँच पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७६ जिल्लामा २८७ शाखा सञ्जाल तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ८५० भन्दा बढी सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ९ : २६ बजे