Logo

मुख्य समाचार

सडक सुधारका लागि सरकार र विश्व बैंकबीच सम्झौता



काठमाडौं ।  नेपाल सरकार र विश्व बैंकले प्रादेशिक र स्थानीय सडक सुधारका लागि १० करोड अमेरिकी डलरको परियोजनामा हस्ताक्षर गरेका छन्।

सोमबार  अर्थ मन्त्रालयमा  एक कार्यक्रमकाबीच विश्व बैंक र सरकारका प्रतिनिधिले उक्त परियोजनामा हस्ताक्षर गरेका हुन् । 

परियोजनाका बारेमा जानकारी  दिँदै अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले कनेक्टिभिटी, दक्षता, लचिलोपन र सुरक्षामा सुधार गर्न एवम सरकारको क्षमतालाई सुदृढ गर्न मद्दत गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय विकास एसोसिएशनबाट १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋणका लागि वित्तीय सम्झौतामा हस्ताक्षर गरिएको बताए । 

सडक तथा पुल पूर्वाधारको योजना, डिजाइन, निर्माण र मर्मत संभार तथा सेवा प्रवाहमा सुधार गर्न प्रदेश, स्थानीय सरकारको व्यवस्थापन र प्राविधिक क्षमता अभिवृद्धि गर्ने परियोजनाको लक्ष्य छ ।

वित्तिय सम्झौतामा सरकारका तर्फबाट अर्थसचिव डा.रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका हुन् । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका क्षेत्रीय निर्देशक, डेभिड सिस्लेन सहरी विकास मन्त्रालयले छुट्टै परियोजना सम्झौता पनि गरेको छ ।

उनले उक्त  सम्झौताले नेपालका लागि यात्राको समय र लागत कम गर्दै, ग्रामीण सम्पर्क विस्तार गर्न, सेवा र बजारहरूमा पहुँच सुधार गर्न र नेपालको आर्थिक सम्भावनालाई समावेशी रूपमा विकास  गर्न मद्दत पुग्ने  विश्वास  व्यक्त  गरे ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  २ : ३९ बजे