Logo

मुख्य समाचार

जेलमा र बाहिर रहेका सहकारी सञ्चालकहरुलाई एकसाथ सोधपुछ गरिने



काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले प्रतिवेदन प्रारुपको संरचनागत प्रस्तावका बारेमा छलफल गरेर पारित गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको बैठकमा २८ औं बैठकले प्रतिवेदनको प्रारुपको संरचनागत प्रस्तावका बारेमा छलफल गरेर पारित गरेको र प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाउने सभापति सूर्य बहादुर थापाले जानकारी दिए ।

उनले भने,‘हामीले प्रतिवेदनको प्रारुपमा बारेमा संरचनागत प्रस्तावमाथि छलफल गरेर पारित गरेका छौ । अब प्रतिवेदनको मस्यौदाको काम अगाडि बढ्छ । प्रतिवेदनमा कार्यादेशमा उल्लेख भएका बुँदाहरु अनुसार तथ्य विश्लेषणको कामसँगै अगाडि बढाउने छौं ।’

उनले सचिवालयबाट प्रतिवेदनको विषयवस्तुसहितको आउटलाइन बैठककमा प्रस्तुत भएको र त्यसमा सांसदहरुले आफ्नो धारणा राखेको पनि जानकारी दिए ।

उनका अुनसार बैठकले सहकारी सञ्चालक जेलमा र बाहिर रहेकाहरुलाई सोधपुछको काम पनि सँगै अघि बढाउने र त्यसको लागि प्रश्नको प्रारुप तयार गर्ने, सोधपुछ बन्दोवस्तको लागि गृह मन्त्रालय र सम्बन्धित निकायलाई समन्वय गर्ने भन्नेबारे पनि छलफल भएको छ ।

‘सचिवालयबाट प्रतिवेदनको विषयवस्तु सहितको आउटलाइन बैठककमा प्रस्तुत भएको छ । त्यसमा माननीयज्यूहरुले आफ्नो आफ्नो धारणा राख्नुभएको छ,’ उनले भने, ‘प्रतिवेदन मस्यौदाको काम सँगसँगै अगाडि बढाउने र अनुसुचि १ र २ सँग सम्बन्धित सहकारी सञ्चालक जेलमा र बाहिर रहेकाहरुलाई सोधपुछको काम पनि सँगै बढाउने छौं । त्यसको लागि प्रश्नको प्रारुप तयार गर्ने र सोधपुछ बन्दोवस्तको लागि गृह मन्त्रालय र सम्बन्धित निकायलाई समन्वय गर्ने छलफल गरेका छौं’उनले भने ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  २ : ०० बजे