Logo

समाचार

देशभर डेंगी संक्रमितको संख्या दुई एक हजार ९५५



काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या दुई हजारनजिक पुगेको छ । सन् २०२४ जनवरीयता जुलाई २६ सम्म एक हजार ९५५ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

यीमध्ये जुलाईका २६ दिनमा ४६८ संक्रमित थपिएका हुन् । यो वर्ष (सन् २०२४) मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।

वाग्मती प्रदेशमा सबैभन्दा धेरै ६२६ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २२६ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । यस्तै, झापामा १२९, चितवनमा १०२, तनहुँमा ७९, मकवानपुरमा ७५, कास्कीमा ६७, भोजपुरमा ६०, ओखलढुंगामा ५८, धनकुटामा ५८, काभ्रेमा ५५ जनामा डेंगी पुष्टि भएको छ ।

यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १२ : १३ बजे