Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशन आफु निकट नेतासँग छलफल गर्दै सिटौला



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे छलफल गर्न नेता कृष्णप्रसाद सिटौलाले आफू निकट नेताहरूसँग छलफल गर्न लागेका छन्। बत्तीसपुतलीस्थित सम्पर्क कार्यालयमा दिउँसो ३ बजे छलफल गर्न लागेका हुन्।

सिटौलाले आफू कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा छलफल गर्न लागेको बताइएको छ। उनले आफू निकट नेताहरू प्रदिप पौडेल, भीमसेनदास प्रधान, शिव हुमागाईँलाई छलफलका लागि बोलाएका छन्। त्यस्तै उमाकान्त चौधरी, उद्धव थापालगायतका नेता पनि छलफलमा सहभागी हुने बताइएको छ। 

यसअघि १३औँ महाधिवेशनमा सिटौला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापाले भने उनको साथ छाडेका छन्। उनी अहिले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट महामन्त्री लड्ने तयारीमा छन्।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले पनि पदाधिकारीको टुङ्गो लगाउन सकेको छैन। यता पौडेल पक्षले पनि सभापति र पदाधिकारीको टुङ्गो लगाउन सकेको छैन। दुवै समूह साता दिनदेखि लगातार छलफलमा जुटेका छन्। आकांक्षी धेरै भएकाले उम्मेदवारीको टुङ्गो लगाउन दुवै पक्षलाई सकस भएको हो।

कांग्रेसको १४औं महाधिवेशन काठमाडौंमा शुक्रबार (भोलि) देखि सुरु हुँदैछ। 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १ : ४६ बजे