Logo

मुख्य समाचार

उम्मेदवार छान्न देउवा पक्ष बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारीसहित उम्मेदवार चयन गर्न आफूनिकट नेताहरुको बैठक बोलाएका छन् । बैठक बुधबार बिहान देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बताइएको छ ।

महाधिवेशन सुरु हुन दुई दिन बाँकी हुँदा उम्मेदवारको टुंगो लागेको छैन । सभापतिमा देउवा नै उम्मेदवार बन्ने निश्चित भएपनि पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको टुंगो लागेको छैन् ।

संस्थापन समूहमा दुई उपसभापतिका लागि विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काको चर्चा छ भने दुई महामन्त्री पदमा आधा दर्जन आकांक्षी छन् । महामन्त्रीका लागि ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, डा. प्रकाशशरण महत, एनपी साउद, विश्वप्रकाश शर्मा र रमेश लेखकले दावी गरेका छन् । देउवालाई महामन्त्री चयन गर्न निकै कठिन हुने देखिएको छ ।

त्यस्तै समावेशी अन्तर्गत आठ सहमहामन्त्री पदका लागि पनि आकांक्षी धेरै हुँदा संस्थापन समूहमा उम्मेदवार तय गर्न सकस छ । सहमहामन्त्रीमा खस–आर्य, महिला, दलित, मधेशी र आदिवासी जनजातीतर्फ सहमहामन्त्री पदमा आकांक्षीको संख्या धेरै छ । कोषाध्यक्ष भने केन्द्रीय कार्यसमितिबाट मनोनित गर्ने व्यवस्था कांग्रेस विधानमा छ ।

कांग्रेस महाधिवेशन मंसिर २४–२७ सम्म काठमाडौंमा हुँदैछ । शुक्रबार महाधिवेशन उद्घाटन हुनेछ भने शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ । मंसिर २७ गते अर्थात् सोमबार बिहानैदेखि मतदान प्रक्रिया सुरु हुने निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  २ : १२ बजे