Logo

समाचार

प्रधानन्यायाधीश बचाउमा ओली : बारलाई भने, ‘न्यायाधीश र बार पनि सच्चिनुपर्छ’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा  ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमन नै न्यायालयको सुद्धिकरण नभएको बताएका छन् ।

प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि सहयोगको माग गर्दै मंगलबार ओलीलाई भेट्न पुगेका नेपाल बार एसोसियसन र सर्वोच्च बारका पदाधिकारीहरुसँग कुरा गर्दै ओलीले जबराको बचाउ गर्दै जबराको बहिर्गमन नै न्यायालयको सुद्धिकरण नभएको बताएका हुन् ।

‘प्रधानन्यायाधीशको राजीनामा न्यायिक सुधारको प्रस्थान विन्दु होइन, अन्त्य हो । प्रधानन्यायधीशको राजीनामा गर्नेबित्तिकै न्यायपालिका सुधारको अभियान नै सकिन्छ, सुरुवात त्यो होइन’, ओलीले भने ।

ओलीले जबराको गल्ती नभएको भन्दै “चोलेन्द्रको गल्ती छैन भनेर भनिरहनुभएको छ, यस्तो बेलामा कसरी महाभियोग दर्ता हुन्छ ? भन्दै ओलीले उल्टै बारका पदाधिकारीहरुलाई प्रश्न गरेका थिए । 

अध्यक्ष ओलीले कानुन व्यवसायी र बार पनि सच्चिनुपर्ने बताएका छन् । न्यायाधीश, प्रधानन्यायाधीश र अधिवक्ताहरू सबै सच्चिनुपर्ने भन्दै उनले आफूलाई प्रधानमन्त्रीबाट हटाउने फैसला पहिले नै ड्राफ्ट तयार पारेर गरिएको आरोप लगाए ।

ओलीले न्यायालयमाथि प्रश्न उठाउन नपाइने भए पनि अहिलेको अवस्थामा न्यायालयको न्याय प्रणालीमाथि नै प्रश्न उठेको भन्दै आफूले कसैको समर्थन र विरोधमा नबोल्ने बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १ : ५४ बजे