Logo

समाचार

चीन भ्रमण सकेर उपसभामुख स्वदेश फिर्ता



काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मित्रराष्ट्र चीनको सात दिने औपचारिक भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएकी छिन् ।

उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स-हिमालयन फोरममा भाग लिएर स्वदेश फर्किएकी हुन् ।

स्वदेश फर्केपछि उपसभामुख राणाले भ्रमण उपलब्धीमुलक भएको बताइन् । उनले तिब्बतमा पर्यावरण, कला तथा संस्कृतिको संरक्षण र दिगो बिकासका लागि भैरहेका प्रयासहरुबाट धेरै कुरा सिक्न जरुरी रहेको बताइन ।

भ्रमणका क्रममा उपसभामुखले असार २० गते उक्त फोरमलाई सम्बोधन गरेकी थिएन । भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्य सुहाङ नेम्बाङ तथा उपसभामुखका स्वकिय सचिव कुमार नेपाली समेत सहभागी थिए । फोरममा भाग लिन माननीय उपसभामुखको भ्रमण टोली यही असार १८ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

यसैगरी फोरममा सहभागी हुन चीन जानुभएका राष्ट्रिय सभाका निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सोमबारै स्वदेश फर्किएका छन् । उनले फोरममा सम्बोधन गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ स्वायत्त क्षेत्र (तिब्बत)का पार्टी सचिव वाङ चुनचङसँग भेटवार्ता पनि गरेका थिए ।

भेटका अवसरमा निर्वतमान अध्यक्ष तिमिल्सिनाले नेपालको बिकासमा चीन सरकारले पुर्‍याएको सहयोग लागि धन्यवाद दिदै चीन संग जोडिएका सिमा नाका बाह्रै महिना नियमित सञ्चालन गर्न, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासालगायत चीनका विभिन्न शहरबाट सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ४ : ४७ बजे