काठमाडौं । ४७ वर्षीय रामपृत सदा र ४३ वर्षीया बौकी कुमारी सदा पतिपत्नी हुन् । उनीहरु पूर्वकानूनमन्त्री तथा वहालवाला सांसद लीलानाथ श्रेष्ठको बिंडी कारखानामा काम गर्छन् । उनीहरुले त्यहाँ काम गर्न थालेको १२ वर्ष पूरा भएको छ ।
पूर्वमन्त्री श्रेष्ठको बिडी कारखानामा १२ वर्ष लगातार काम गर्ने यी दुई दलित मुसहर मजदुर दम्पत्तीको दैनिक ज्याला सुन्दा उदेक लाग्छ । रामपृतले दैनिक २ सय ५० ज्याला पाउँछन् र बौकी कुमारीले दैनिक २ सय मात्र ।
बौकीको नामको नेपाली अर्थ ‘लाटी’हुन्छ । बोली नफुटेकोले नाम नै बौकी (लाटी) राखिदिए । नागरिकता प्रमाणपत्रमा पनि सोही नाम उल्लेख छ । उनी बोल्छिन् तर उनको बोली बुझिँदैन । रामपृत सदा पनि कान कम सुन्छन् । बोली अडकिन्छ र लर्बरिन्छ । धेरै पटक सोध्दा एक दुई शब्द मात्र बोल्छन् ।
बौकीले बिंडी कारखानामा दैनिक सुर्ती कुट्ने र धूल्याउने काम गर्छिन् । घरको भाँडा माँझ्ने, सरसफाई गर्ने बगैंचा गोडमेल गर्ने काम पनि गर्छिन् । रामपृतले बिंडी कारखानाका मजदुरहरुलाई चाहिने दाउरा चिर्न बञ्चरो चलाउँछन् । सुर्ती कुटछन् । उनीहरु बिहान ८ बजेदेखि साँझ ६-७ बजेसम्म काम गर्छन् । कठोर श्रम गराइन्छ तर दुई ज्यामीले दिनभरी काम गरेको ज्याला जम्मा ४ सय ५० मात्र ।
रामपृत र बौकी त प्रतिनिधि पात्र मात्र हुन् । पूर्वमन्त्रीको लीला बिंडी कारखानमा अझै पनि यस्ता दर्जनौ मजदुर छन् जसलाई अत्यन्त न्यून ज्यालामा कठोर श्रम गराइन्छ । सरकारले एक जनाको दैनिक ज्याला नै ६ सय २० रुपैंयाँ तोकेको छ । सरकारी नियम अनुसार कारखानामा काम लगाएवापत रामपृत दम्पत्तिले दैनिक १२ सय ४० ज्याला पाउनुपर्ने हो । तर मात्र ४ सय ५० दिइन्छ । दलित मुसहर दम्पत्तिले पूर्वमन्त्रीको कारखानामा दैनिक ७ सय ९० रुपैयाँ शोषण खप्नु परेको छ । यसरी शोषणमा परेका मजदुरहरु पूर्वमन्त्री श्रेष्ठको कारखानामा धेरै छन् ।
रजिया खातून (उनले नाम खुलाउन नचाहेकोले नाम परिवर्तन ) लीला छाप बिंडी कारखानामा दिनभरी बिंडी बनाउँछिन् । दिनभरीमा पाँचसय थान बिंडी मठारेपछि ज्याला पाउँछिन् मात्र एकसय । उनी भन्छिन्,‘बोल्न मिल्दैन । बोलेको थाहा पाए भने रोजगारीबाट निकालिदिन्छन् । दिनको एक सय रुपैयाँमा मजदुरी गरेको वर्षौ भयो । म जस्ता यहाँ सयौं मजदुर छन् जो दैनिक एक सय रुपैंयाँमा काम गर्छन् ।
गोलबजार नगरपालिका-९ डण्डा टोलका श्यामसुन्दर महतो भन्छन्,‘लीलानाथ श्रेष्ठको घरमा मेरी आमाले पनि आठ वर्ष काम गरिन् । डेढ सयदेखि सय ज्याला दिइन्थ्यो । लीलानाथ श्रेष्ठ आफूलाई कम्युनिष्ट नेता भन्नुहुन्छ तर व्यवहारमा मजदुरलाई चर्को शोषण गर्नुहुन्छ । अहिलेको जमानामा खाना खुवाएर दैनिक ५-६ सय ज्याला दिनुपर्ने हो तर दुईसय ज्यालामा मजदुर खटाइरहेका छन् ।’
महतो भन्छन्, ‘लीलानाथ श्रेष्ठको पैत्रिक सम्पत्ति रामपृत र बौकी जस्ता हजारौ मुसहरको श्रम शोषण गरेर थुपारिएको हो । गणतन्त्रसहितको लोकतन्त्र आउँदा समेत दैनिक दुई सयमा बिंडी कारखानामा मजदुरी गराइन्छ । पञ्चायतकालमा के अवस्था थियो होला कल्पना गर्नुस् त ? उनले थपे, ‘सुर्तीको रागले हजारौं मजदुर फोक्सोका रोगी बनेका छन् ।’
पूर्वकानून मन्त्री श्रेष्ठको जग्गाको कित्ताको आडैमा मुसहर दम्पत्तिसँग सम्पत्तिको नाममा एउटा सानो कच्ची झुप्रो छ । दलित मुसहर दम्पत्तीको दुई छोरी छन् । उनीहरुले छोरी पढाउन सकेनन् । रामपृत भन्छन्,‘दुई ज्यामी घोटिएर दैनिक चारसय ५० कमाएको पैसाले खानै पुग्दैन । कसरी पढाउने ?’
रामपृतकी जेठी छोरी सीता सदालाई पनि श्रेष्ठले काठमाडौं पुर्याएर ६ महिनासम्म घरेलु कामदारको रुपमा प्रयोग गरेका थिए । सीता भन्छिन्,‘त्यतिबेला उहाँको घरमा नानीनि जन्मिएकी थिइन । अनि मलाई घरको काम गर्न लगेका थिए ।’
स्थानीय नेकपा माओवादीका नेता रामचन्द्र सिंह भन्छन्,‘के गर्नु अन्यत्र काम पाइँदैन । लीलानाथ श्रेष्ठले यिनी निर्धा दलित मुसहर दम्पत्तिको मजवुरीको फाइदा उठाएका छन् । कम्युनिष्ट पार्टीमा लागेर मन्त्री भएको मान्छे तर लाजसरम नै छैन । दुनियाँले के भन्लान् भन्ने पनि छैन । दुईसय दैनिक ज्यालामा अझै मजदुरी गराउने ? यो भन्दा चर्को शोषण के हुन्छ ? उनका पार्टीका केन्द्रीय नेताहरु आएर अनुगमन गरे हुन्थ्यो नी ।’
श्याम सुन्दर महतो भन्छन्, ‘सुर्तीजन्य पदार्थ स्वास्थ्यको लागि हानिकारक हुन्छ । माननीय श्रेष्ठको बिंडी कारखानामा सुर्ती कुट्ने काम गर्ने मजदुरहरुलाई सुरक्षाका लागि मास्क पनि दिइँदैन । त्यहाँ काम गर्ने मुसहर मजदुर ६० वर्ष नपुगी फोक्सो खराव भएर मर्छन् । हजारौं मुसहर मजदुरको रगत पसिना र चिहानमाथि लीलानाथ श्रेष्ठको सम्पत्तिको डंगुर लागेको छ ।’
प्रतिक्रिया