Logo

समाचार

लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना स्याटलाइटबाट गर्ने तयारी



काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या समेट्ने तयारी गरेको छ । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय जनगणनाका क्रममा गणक उक्त क्षेत्रमा पुग्न नसके पनि वैकल्पिक विधि प्रयोग गरी जनगणना गर्न लागिएको हो ।

विभागले जनगणनाको प्रारम्भिक नतिजा तीन महिनाभित्र निकाल्नेगरी अहिले तयारी गरिरहेको छ । उक्त क्षेत्रमा २०१८ सालमा पनि जनगणना गरिएको थियो । स्याटलाइटको माध्यमबाट उक्त क्षेत्रको घर गणना गर्ने र प्रतिघरमा औसत रूपमा बस्ने व्यक्तिको सङ्ख्या निकालेर उक्त क्षेत्रको जनगणना गर्ने योजना विभागले बनाएको विभागका उपमहानिर्देश डा। हेमराज रेग्मीले जानकारी दिए । उनका अनुसार, गणकले मूल गणनाका समयमा सो क्षेत्रमा पुगेर विवरण सङ्कलन गर्न नसके पनि वैकल्पिक विधिबाट जनगणना गर्न लागिएको हो । 

विभागले जनगणनाका क्रममा कूटनीतिक रूपमा विभाग र जिल्लाबाट समेत स्थलगत रूपमै जनगणना गर्ने प्रयास गरे पनि सो स्थानमा जान नसकिएकाले अब स्थानीयवासीसँगको सहकार्यमा प्रविधि प्रयोग गरेर तथ्याङ्क सङ्कलन गरिनेछ । विभागका अनुसार उक्त क्षेत्रको कुटी, नाभी र गुञ्जी क्षेत्रमा मात्रै मानिसको बसोवास गर्दै आएका छन् । करिब तीन सय घरधुरी रहेको उक्त क्षेत्रमा सातरआठ सय जनसङ्ख्या रहेको अनुमान छ । चिसो मौसम दैनिक बढ्दै गएको र सो क्षेत्रका स्थानीय लेकबाट जाडो छल्न बेँसी झर्ने गरिएकाले दार्चुलाको छाङरु र तिङ्करका स्थानीयवासीसँग प्रत्यक्ष रूपमा सम्पर्कसमेत गर्न सहज हुने रेग्मीले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १ : ५० बजे