Logo

राजनीति

एमालेसँगको सहकार्यलाइ लिएर अहिले नै खुशी हुने अवस्था छैन् : डा.कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसभित्र नै एकता नभएको भन्दै अरु पार्टीसँग कसरी सहमति, सहकार्य र एकता हुन्छ भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘शान्ति र क्रान्तिका नायक जीपी कोइराला’विषयक अन्तरक्रियामा उनले अरुसँगको सहकार्य भन्दा अगाडि आफ्नो घर ठिक राख्न जरुरी रहेको भन्दै पार्टीभित्र सहकार्य र सहमतिपछि मात्रै अरु दलसँग सहकार्य गर्न सकिने बताए ।

उनले भने,‘हामी सहमति, एकता र सहकार्यको कुरा गर्छौं । तर त्यो नेपाली कांग्रेसभित्र नै छैन भने अन्य पार्टीसँग हुन्छ कसरी ? सम्भव नै छैन् । सबैभन्दा पहिले हामीले आफ्नो घर ठिक राख्न जरुरी छ । घर ठिक राख्नलाई सहमति, सहकार्य, एकता आफ्नो साथीहसँग हुन जरुरी छ ।’

उनले एमाले र कांग्रेसको नयाँ समीकरण भएको प्रसंगमा नेपाली राजनीतिको अस्थिरता कहिलसम्म बोकिरहने भन्दै प्रश्न गरे । निर्वाचन प्रणालीमा सुधार गरेर जान सकेमा जनताले चाहेको कुरा पूरा हुन सक्ने उनको भनाइ छ ।

उनले भने,‘माओवादीले एमालेलाई लिएर सरकार बनायो । त्यसपछि उहाँहरुबीच के भयो थाहा छैन । फेरि नेपाली कांग्रेससित सहकार्य हुँदैछ । यस्तो अस्थिरतालाई कहिलेसम्म बोकिरहने ? संविधानमा सुधार गर्ने कुरा धेरै छन् । त्यसमा छे्डछानी गर्न थालियो भने संविधान सुधार पनि हुँदैन् । निर्वाचन प्रणालीमा हामीले सुधार गरेर जान सक्यौ भने केही न केही जनताले चाहेको पूरा हुन्छ ।’

नेता कोइरालाले प्रधानमन्त्रीले अहिसम्म पनि राजीनामा दिइनसकेको भन्दै एमालेसँगको सहकार्यलाई लिएर अहिले नै खुशी हुने अवस्था नरहेको धारणा राखे ।

नयाँ समीकरण नेपाली कांग्रेसको अन्तिम विकल्प रहेको भन्दै नयाँ बन्ने सरकारलाई पनि सफल बनाउन सकिएन भने देश एकदमै नराम्रो बाटोमा जाने उनको भनाई छ ।

उनले भने,‘एमालेसँग कुरा भएको छ तर अहिले नै खुशी हुने अवस्था छैन् । किनकी प्रचण्डजीले आजसम्म पनि राजीनामा दिनुभएको छैन् । उहाँले राजीनामा दिनुभएन भने के हुन्छ भन्ने पनि हामीले सोच्नुपर्ने हुन्छ । कांग्रेस र सबै भ्रातृ संगठनहरुले सोच्नुपर्ने हुन्छ । अन्तिम विकल्प हो भन्ने लाग्छ । यसरी नै सरकार बदलिरहने ? नेतृत्व गर्ने पालो नेपाली कांग्रेसको पनि आउँछ । निर्वाचनको बेला यसमा अत्यन्तै चनाखो हुनुपर्छ । अहिलेको सरकारलाई पनि सफल बनाउन सकिएन भने देश एकदमै नराम्रो बाटोमा जान्छ ।’

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ५ : ३१ बजे