Logo

मुख्य समाचार

ट्यूसन पढ्न आएका विद्यार्थीबीच छुरा हानाहान, तीन जना घाइते



रौतहट । रौतहटको गौरमा ट्यूसन पढ्ने विद्यार्थी समूहबीच छुरा हानाहान हुँदा तीन जना घाइते भएका छन् ।

घाइते मध्ये एक जनाको आवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । गौर ४ टिकुलियाका सुरज यादवको घाँटी नजिक कुममा गहिरो घाउ लागेकाले थप उपचारका लागी वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक दिलिप घिमिरेका अनुसार घटनामा घाइते तीन जनाको उपचार भइरहेको छ । गौर नगरपालिका नजिकै संचालनमा रहेको ट्यूसन तथा कोचिङ्ग सेन्टरका विद्यार्थीहरु बिच झडप भएको खबर पाउने बितिकै प्रहरी टोली पुगेको उनले जानकारी दिए ।

प्रहरी टोलीले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न इशनाथ नगरपालिका ९ का २० वर्षीय संजिव गुप्ता, २१ वर्षीय प्रदिप साह र परोहा नगरपालिका ९ का १८ वर्षीय शिवम कुमार सहनीलाई पक्राउ गरेको छ ।

चार जनालाई पक्राउ गरेपनि एकजनाको संलग्नता नदेखिएपछि तीनजना उपर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गौर नगरपालिका भित्र अनुमति समेत नलिएका ट्यूसन तथा कोचिङ्ग सेन्टर संचालनमा रहेको यहाँका अगुवाहरुको भनाइ छ । गौर नगरपालिकाको शिक्षा शाखा तथा शिक्षा विकास तथा समन्वय इकाइले समेत कुनै चासो नलिएको अभिभावकहरुले गुनासो गरेका छन ।

व्यापारिक प्रयोजनका लागी बनाइएका सटरमा एक पटकमा ४० भन्दा पनि विद्यार्थीलाई राखेर ट्यूसन र कोचिङ्ग पढाउने गरिन्छ । एउटै कोठामा क्षमता भन्दा बढी विद्यार्थी राखेर पठनपाठन हुँदा समेत नियमक निकाय मौन बसेको आरोप लागेको छ । तर गौर नगरपालिकाले यस विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ४ : ५९ बजे