Logo

राजनीति

एकीकृत समाजवादीमा सर्वसम्मत नेतृत्व चयन हुन्छ : माधव नेपाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन् । बिहीबार काठमाडौँस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरूसँग छलफल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पार्टीको महाधिवेशनमा महासचिव घनश्याम भुसालले अध्यक्षमा दाबी गरिरहेका बेला भएको छलफलपछि सहमतिबाटै नेतृत्व टुङ्गो लाग्ने निष्कर्षमा पुगेको अध्यक्ष नेपालले दाबी गरे ।

गत असार १६ गतेबाट जारी दसौँ महाधिवेशनको आज अन्तिम दिन हो । आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । तर नेताहरूको जोड सहमतिमा नेतृत्व छान्ने भए पनि प्रतिनिधिहरूले अध्यक्ष र महासचिव पदमा बाहेक निर्वाचन हुनुपर्ने बताउँदै आएका छन् । बुधवार बेलुकादेखि नेताहरूबिच नेतृत्वमा सहमति जुटाउन छलफल भइरहेको छ ।

अध्यक्षमा दाबी गरेका भुसाललाई नेपालले महासचिवमा रहन प्रस्ताव गरे पनि उनले अधिकारसहितको पद खोजिरहेको बुझिएको छ । अन्ततः भुसाललाई महासचिव नभए वरिष्ठ उपाध्यक्षमा मनाउने प्रयास जारी रहेको नेताहरूले बताएका छन् ।

यसअघि नेता राजेन्द्र पाण्डेले वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका थिए । भुसाल वरिष्ठ उपाध्यक्षमा सहमति जुटे पाण्डेलाई उपाध्यक्ष वा वरिष्ठ नेता राख्ने विकल्पमा छलफल भइरहेको बुझिएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १ : ३४ बजे