Logo

मुख्य समाचार

कांग्रेस प्रदेश अधिवेशन: चारमा संस्थापन, दुईमा इतर पक्षका सभापति निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ६ वटा प्रदेशमा प्रदेश अधिवेशन सकिएको छ । प्रदेश २ को अधिवेशन भने अझै अनिश्चित रहेको छ । क्षेत्रीय प्रतिनिधि चयनको विषयलाई लिएर केही जिल्लामा विवाद जारी रहेकाले प्रदेश दुईको अधिवेशन अनिश्चित भएको हो ।

हालसम्म सम्पन्न ६ प्रदेशमा संस्थापन पक्षको वर्चस्व रहेको छ । चारवटामा संस्थापन पक्षका सभापति निर्वाचित भएका छन् भने दुईवटामा मात्रै इतर पक्षका सभापति निर्वाचित भएका हुन् । पदेशमा पनि सभापति  शेरबहादुर देउवा नै बलिया देखिएका छन् ।

बागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका इन्द्र बानियाँ विजय भएका छन्। इतर पक्षका जगदीश्वर नरसिंह केसीलाई १ सय ५८ मतले पराजित गर्दै बानियाँ विजयी  भए। 

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत पाउन नसेकेपछि दोस्रो चरणमा भएको मतदानमा बानियाँले १ हजार ८५ र केसीले ९ सय २७ मत प्राप्त गरे।  पहिलो चरणमा तेस्रो भएका सिटौला समूहका भीमसेनदास प्रधानले दोस्रो चरणमा बानियाँलाई समर्थन गरेका थिए।

लुम्बिनी प्रदेशमा इतर पक्षका अमरसिंह पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई पराजित गरे। वरिष्ठ नेता रामचन्द्र पौडेल निकट पुन ८ सय ५२ मतसहित सभापतिमा निर्वाचित हुँदा शाहले ७ सय ६७ मत ल्याए।

यस्तै,प्रदेश १ को सभापतिमा संस्थापन तर्फका उद्धव थापा विजयी भएका छन्। आज बिहान सकिएको मतगणनामा इतर समूहका गुरुराज घिमिरेलाई २ मतले पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन्।

यस्तै, गण्डकी प्रदेशमा संस्थापन इतर समूहका शुक्रराज शर्मा विजयी भए । कर्णाली र सुदूरपश्चिम प्रदेशमा संस्थापन समूहका क्रमश ललितजंग शाही र वीरबहादुर बलायर विजयी भएका छन् । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४० बजे