Logo

Breaking News 1

क्यानको केन्द्रीय कार्यसमिति बैठक बस्दै, विश्वकप समीक्षा मुख्य एजेण्डा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आज बिहान ११ बजे काठमाडौंको एक होटेलमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।

बैठकमा झण्डै एक दर्जन बढी एजेन्डाहरु तय गरिएका छन् । नेपाली क्रिकेट टिमले वेस्टइन्डिज र अमेरिकामा आयोजना भएको आइसीसी टी २० विश्वकपको समिक्षा, उक्त विश्वकपको तयारी खर्च अनुमोदन गर्ने एजेन्डा तय गरिएको छ ।

यसैगरी सन्दीप लामिछानको भिसा समस्याको एजेन्डा पनि तय गरिएको बताइएको छ । सन्दीपले अमेरिकाको भिसा पाएका थिएनन् । दुई पटक अन्तर्वार्ता दिँदा पनि भिसा अस्वीकृत भएको थियो ।

यसैगरी, पहिलो संस्करण आयोजना गरेर निकै विवादित बनेको नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण आयोजनाका बारेमा पनि आजको बैठकमा छलफल हुने बुझिएको छ । टियु मैदानमा रहेको जिम हल विस्तार र पीचको माटो भण्डारण क्षेत्रको विषयमा पनि छलफलका एजेन्डा तय गरिएको छ ।

यसैगरी मूलपानी मैदानको क्युरेटिङ कन्सलटेन्ट नियुक्ति सम्बन्धमा पनि छलफल हुने छ भने राष्ट्रिय छनोट समितिको सुविधाका विषयमा पनि छलफलको एजेन्डामा तय गरिएको छ । महिलाको टी २० एसियाकपको सहभागिताका साथै कर्मचारीहरुको प्रशासनिक नियमावली पनि पारित गर्ने एजेन्डामा समावेश गरिएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ९ : १८ बजे