Logo

मौसम

मनसुन सक्रिय, केही जिल्लामा बाढी पहिरो



काठमाडौं । देशभर मनसुन सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारसम्म मनसुन थप सक्रिय हुनेछ ।मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो । 

महाशाखाका अनुसार न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग÷सिमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना कायमै रहेको हो । यही असार २० गतेसम्म आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ताप्लेजुङ, भोजपुर, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, ते¥हथुम, सुनसरी, सिराह, म्याग्दी, प्यूठान, पाल्पा, सल्यान, बाजुरालगातका जिल्लामा अवीरल बर्षा भइरहेको छ । केही स्थानमा पहिरो खसेको छ । त्यस्तै कैलाली र वारामा चट्याङले सामान्य क्षति पुर्याएको छ ।

मनसुन अवधिमा देशभर साधारणयतादेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन(चट्याङसहित भारी वर्षा भइरहेको छ ।

मनसुन सक्रिय रहेको अवधिभर कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, र ओखलढुङ्गा बाढी पहिरोको उच्च जोखिममा छन् ।

यस्तै बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा तथा गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङजा, तनहुँ, नवलपरासी पूर्व र लमजुङ पनि उच्च जोखिममा रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ  ।

यसैगरी लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व पनि बाढी पहिरोको उच्च जोखिममा छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ८ : २० बजे