Logo

मुख्य समाचार

बाल विवाह गर्ने गराउनेलाई कडा कारबाही गर्न सांसद कार्कीको माग



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले बाल विवाह गर्ने/गराउनेलाई कडा कारबाही गर्नुपर्ने बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले समाजमा बालविवाह ठूलो रोगको रुपमा रहेको भन्दै यस्तो गर्ने गराउनेलाई कडाभन्दा कडा कानुनी कारबाही गरिनुपर्ने बताइन् । उनले संविधान र कानुनमा बाल विवाहलाई वर्जित गरिएको भएपनि कानुन कार्यान्वयन हुन नसकेको बताइन् ।

उनले अहिलेपनि बाल विवाहको दर ३५ प्रतिशत रहेको र मधेस प्रदेशमा त झनै ४२.४ प्रतिशत रहेको भन्दै यसलाई पूर्णरुपमा रोक्नुपर्ने बताइन् । उनले कुनै कानुनी कमजोरी भए परिमार्जन गर्न पनि सरकारलाई आग्रह गरिन् । उनले कानुन कार्यान्वयनमा फितलोपन देखाउने प्रशासनलाई पनि कारबाही गर्नुपर्ने बताइन् ।

सांसद कार्कीले सरकारले शिक्षा र रोजगारीमा लगानी बढाउनुपर्ने बताइन् । उनले विपन्न वर्गलाई सहायता कोषको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  २ : २४ बजे