Logo

खेलकुद

भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश



काठमाडौं । भेनेजुएला कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह बी अन्र्तगत आज भएको खेलमा मेक्सिकोमाथि १–० गोल अन्तरको जित दर्ता गर्दै भेनेजुएलाले अन्तिम ८ मा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा बल नियन्त्रण मेक्सिकोले बढी राखे पनि गोल गर्न असफल भयो । ५५ औं मिनेटमा मेक्सिकोका जुलियनले फल गरेपछि भेनेजुएलाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई ५७ औं मिनेटमा सालमन रोनडनले गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए ।

८३ औं मिनेटमा भेनेजुएलाका मिगुएल नाभारोले फल गरेपछि भारले चेक गरेर मेक्सिकोलाई पेनाल्टीको अवसर दिइएको थियो । तर, ८७ औं मिनेटमा गरेको पेनाल्टी प्रहार मिस भयो । मेक्सिोका ओरविलन पेनेडाले प्रहार गरेको पेनाल्टी खेर गएको थियो । त्यसपछि खेलमा मेक्सिको फर्कन सकेन र अन्ततः भेनेजुएला १–० को जितका साथ तालिकामा ६ अंक बनाउँदै शीर्ष स्थानमा उक्लियो । समूह चरणको अन्तिम खेलमा भेनेजुएलाले जमैकासँग खेल्दा मेक्सिकोले इक्वेडरसँग खेल्ने छ ।

त्यसअघि आजै भएको अर्को खेलमा इक्वेडरले पहिलो जित निकालेको थियो । इक्वेडरले जमैकामाथि ३–१ गोल अन्तरको जित दर्ता गरेको हो । इक्वेडरले जित निकाल्दा अग्रता भने उपहार गोलबाट लिएको थियो । जमैकाका केसइ पालमरले आफ्नै पोस्टमा १३ औं मिनेटमा गोल गरेपछि इक्वेडरले अग्रता लिएका थिए ।

पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा रे केन्ड्रे पेइजले गोल गरेपछि इक्वेडर २–० को सहज अवस्थामा पुगेको थियो ।
५४ औं मिनटमा मिचेल एन्टोनियाले जमैका लागि एक गोल फर्काए । तर, दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा एलन स्टेभ गार्सियाले गोल गरेपछि इक्वेडर ३–१ को जितसहित ३ अंक लिन सफल भयो । जमैकाको भने यो लगातार दोस्रो हार हो ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ९ : २७ बजे