एक पश्चिमेली चेली जसले आफ्नो खुसी भन्दापनि घरपरिवारको सपनापुरागर्न १२ बर्ष पहिले राजधानी आउँछिन । जसको लामो संघर्ष र छोटो समयको व्यावसायिक उपलब्धिमा दिदी भाई बहिनीहरुको साझा परिश्रमको परिणामस्वरूप आज बिपनाबाट बिपना जी भएकी छिन । आफ्नो स्वतन्त्र पेशाको मालकिन मात्र भएकी छैनन् ,बरु डल्ली चियाको ट्रेडमार्कले आफ्नो छुट्टै पहिचान बनाउन तथा सफलताको फड्को मार्दैछिन् ।
लगानी बिपना खत्रीको भएपनि यसको सफलताको पछि स्थानीय बालकोटबासीहरुको सद्भाव, स्नेह, नवआगन्तुक ग्राहक एवं शुभचिन्तकहरुको उल्लेखनीय उपस्तिथिले सकारात्मक भूमिका खेलेको हुन्छ । एउटा सामान्य चिया पसल र दुध डेरीबाट आज उनले थोरै भएपनि नाम र दाम कमाउने दिशामा अग्रसर रहनु चानचुने कुरा होइन ।
म आफैपनि यस चिया पसलको एक नियमित ग्राहक भएको नाताले बिपना खत्रीको लगानी उदेश्य साझाश्रम कार्य, तारतम्यता, गुणस्तरियता तथा आउने ग्राहकहरु संगको व्यवहार एबं प्रतिक्रिया आदिलाई नियालि रहेको थिएँ । कुनै दिन यी नानीको संघर्षको कथा र ब्यथाको बारेमा लिख्ने निधो गरेको थिएँ तर तत्कालै लेख्छु भन्ने लागेको थिएन ।
डल्ली चिया पसलको यही आषाढ १० गते पाँचौ बार्षिकोत्सवको अवसरमा केही लेख्न सान्दर्भिक ठानेर बिपना खत्रीसंग आन्तरिक बिषय बुझ्न अस्ति पसल अगाडी दस मिनेटको कुराकानीमा उनले आफ्नो बिगतमा भोगेको कष्ट पिडालाई बिस्तारपूर्वक बताउन चाहिनन् । किनकी खाटा बसिसकेको घाउलाई नकोट्याउनु नै बेश ठानिन ।
आफ्नो दुःख पीडा दुनियाँलाई सुनाएर हिंड्नु भन्दा जीवनमा केही गरेर देखाउन सकेको खण्डमा समयले जबाफ दिदै जाने कुरामा जोडदिइन । यस्तै उनीसंगको अन्य बाँकी कुराकानी र व्यवसायको सेरोफेरोमा रहेर एउटी चेलीको बारेमा थोरै मात्र चर्चागर्दा पनि श्रमको सम्मान हुने भएकोले लेख्ने जमर्को गरेको हुँ ।
यदि तपाईं आफ्नो सपनालाई पुरागर्न, आफ्नो व्यवसाय संचालन गर्न हिम्मत देखाउन सक्नुहुन्न भने अरु कसैले आफ्नो सपना पुरागर्नका लागि तपाईंलाई जागिरमा राख्न सक्छ । त्यसैले जागीर सरकारी होस् या गैरसरकारी कुनैपनि प्रकारको जागिर गरेर अर्काको चाकडी बजाउँनु भन्दा सानोतिनो पूँजीको व्यवसाय संचालन गर्नु कताकता बुद्धिमानी मानिन्छ । जुनसुकै व्यवसाय आरम्भ गर्दा आफन्तहरुले खिसिट्यूरी गर्ने र सामाजिक ताना मार्नेहरुको हाम्रो समाजमा कमि छैन ।
त्यस्ता कुरालाई वास्तानगरी निरन्तर आफ्नो उदेश्य प्राप्तिको दिशामा लागिरहनु पर्दछ । व्यवसायले जनसम्पर्कलाई बढाउँछ । आफ्नो अधिकार र स्वतन्त्रताले जीवनमा नयाँ तरिकाहरु सिकाउँछ र सोही अनुरुप मुनाफा आर्जन गर्दै जाने हो ।
त्यसो त व्यवसायको कुनै सीमा छैन । आफ्नो पूँजी अनुभव र रुचि अनुसारको स्वतन्त्र पेशाको छुट्टै आनन्द छ । आफू नभएको बखतमा पनि घर परिवारका सदस्यहरुले पनि चलाउन सक्छन् । यदि हामीले छिटो समृद्धि हासिल गर्नु छ भने व्यवसाय भन्दा अर्को उत्तम विकल्प हुन सक्दैन । किनकि व्यवसाय आफ्नो लागि हुन्छ भने जागिर अरुको लागि हुने गर्दछ ।
यही सिद्धान्तलाई अवलम्बन गर्दै बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका-४ निवासी बिपना खत्रीले कक्षा १२ पास गरेर पहिलो पटक आफ्नो उदेश्य पुरा गरेर देखाउन २०६८ सालमा राजधानी आईन । त्यसमा पनि गाउँकी सोझी केटी राजधानीको भागदौडको जिन्दगी बढदो महंगी र बेरोजगारी अनि समाजको गिद्दे दृष्टिबाट जोगिएर जीवनमा केही गरेर देखाउन त्यति सहज नभएपनि असंभव भने पक्कै थिएन ।
यही सोंचको साथ बिपना खत्रीले भक्तपुरको बालकोट चौकसंगै रहेको मैनाली डेरीको चिया पसलमा एक कामदारको रूपमा निरन्तर चार बर्षसम्म काम गरिन । त्यसपछि पनि त्यहीँ टिकेर काम गरिरहनु समयको बर्बादी या आफ्नो खुट्टामा आफैले बन्चरो चलाए जस्तो अनुभूति भएपछि उनले त्यहाँ काम गर्न छाडीन ।
आफ्नै पाखुरीको बलमा यसै समाज भित्र आफ्नो स्वतन्त्र व्यवसाय गर्ने उनमा हुटहुटी जागिरहन्थ्यो । नभन्दै त्यसैबेला अहिले चलेको डेरी पसल बिक्रीमा रहेको जानकारी पाइन् । यसका लागि उनिसंग अनुभव र सीप छदैं थियो । आवश्यक थियो त थोरै पूँजीको मात्र ।
आफुसंग भएको केही रकम र ऋण सापटी गरि तीनलाखमा अहिलेको डेरी पसल किनिन त्यो पनि भूतले खाजा खानेबेला परेछ अर्थात कोरोनाको कारण मानिस घरबाट बाहिर निस्किदैनथिए त्यसबेला उनले आफ्ना भाईहरुको सहयोगमा २०७७ साल आषाढ १० गते एकदर्जन गिलास र दस लिटर दुधबाट बिपनाले चिया पसलको श्रीगणेश गरेकी थिईन । कोरोनाकालको त्यो समय जो कोहीको निम्ति एउटा जीवन मरणको कठिन घडीमा व्यवसाय गर्नुको अर्को बिकल्प पनि थिएन ।
तत्कालीन अवस्थामा केही नोक्सानी व्यहोर्नु परेपनि लक डाउन क्रमशः खुकुलो हुँदै गएपछि धैर्यताको फल झन झन मीठो हुँदै आयो । अहिले प्रतिदिन हजार बाह्रसय कप चिया बिक्रीसंगै दुध, दही, लस्सी, कुरौनी, घ्यू, पनीर र बेकरी आइटमहरुको पनि संतोषजनक बिक्री रहेको छ ।
यसको प्राप्त मुनाफाबाट यहाँ एकटुक्रा घडेरी,२० लाख बराबरको पसल पूँजी, दिदी र भाईहरुको उच्च शिक्षामा लागानी, केही बैंक ब्यालेन्स, काठमाडौ र ललितपुरमा डल्ली चियाको नयाँ शाखा विस्तार योजना आदि चारबर्ष अघि एक दर्जन गिलासबाट आरम्भ व्यवसायको देन हो । जसले थोरै समयमा भोलिको सुन्दर भविष्यलाई कोर्दै र सजाउँदै लगेको प्रष्टै देखिन्छ ।
आफ्नो चिया व्यवसायलाई थप दर्जा प्रदान गर्न बिपनाले केही महिना पहिले पसलको अगाडी डल्ली शब्द राख्ने निधो गरिन । आफू सानो छँदा आमाबुबाको स्नेह र बात्सल्यताले डल्ली डल्ली भनि बोलाउँदा अन्य छिमेकी गाउँलेहरुले पनि उनलाई मायाले डल्ली नामले सम्बोधन गर्न थालेपछि त्यो बालापनको झझल्को दिलाउने नासो स्वरुप डल्ली शब्दलाई टपक्क टिपेर चियाको अगाडी राख्नु ठिक त्यस्तै हो ,जस्तो कुनै महिलाले आफ्नो कपाल कोरिबाटे पछि निधारमा रातो टीका लाउँदा खुलेको सुन्दर रुप जस्तै हो । डल्ली शब्दले एउटा निखार र मिठास दिएको हुन्छ । यसले आफ्नो पेशालाई सबैका सामु चिनाउन र उँचाई दिने ट्रेडमार्क हो । क्रेता बिक्रेता बीचको विश्वसनीयता र गुणस्तरीयतालाई सन्तुलन कायम गर्ने एउटा बलियो आधार हो । यस्ता ट्रेडमार्क सम्बन्धि कम्पनी या व्यक्तिको जम्मापूँजीको रूपमा रहेका हुन्छ भने यो एउटा स्तरीयताको मापदण्ड हो ।
यहाँ चिया ! त्यहाँ चिया ! जताततै चिया नै चियाको लोकप्रियता हामीकहाँ बढदो छ । बिहान देखि बेलुका सम्म बात बातमा चिया नै चियाको कुनै समय सीमा रहेन । के गाउँ के शहर जताततै सहजै उपलब्ध हुने चिया हाम्रो जीवनशैलीको अभिन्न अंग बन्दै आएको छ । चिया पसल हामी सबैको लागि एउटा साझा चौतारीको रूपमा पाउँने गरेका छौं । जहाँ साँझ बिहान चियाको चुस्कीले सारा थकान मेटाउने र नयाँ राजनीति गफ सुनेर टाइम पासको राम्रो माध्यम समेत बनेको छ ।
हरेक पर्खाइ र भेटघाटको बीचमा आउने चिया हाम्रो दैनिकि नै बनेका हुन्छन् । घरमा आउने अतिथिहरुको लागि पनि सस्तोमा न्यानो स्वागतभाव गराउने चियाको व्यवसाय र महिमा अझ बढ्दो छ । यस्ता पसलमा आउने पारखीहरुमा प्रायः ससाना व्यव्सायी, शिक्षक, पत्रकार, वकिल, राजनीतिकर्मी, समाजसेवीहरुको जमघटकोबीचमा समसामयिक चर्चा र बहसहरुले चियाको स्वादलाई झनै बढाएको हुन्छ भने अर्कोतिर चिनजान प्रेमभाव र आपसी सद्भावले एउटा ठूलो परिवारिक ढाँचा निर्माणसंगै अन्तर सम्बन्धहरुलाई समेत चियाले गाँसेको हुन्छ ।
यहाँबाट उपलब्ध हुने चिया, दूध, दही, लस्सी, मोही, घ्यू, पनीर, कुरौनी र बेकरी आइटमहरुको गुणस्तरीयता, ताजापन, सुहाउँदो मुल्य, शिघ्रसेवा, सरसफाइ र मिठोबोली व्यबहारलाई दृष्टिगत गरी उपभोक्ताहरुको लागि वाईफाई सेवा समेत उपलब्ध गराइएको छ । यहाँको अर्को बिशेषता भनेको चिया, दूध, मही र चुरोट मध्ये जे उपभोग गरेपनि बीस रुपियाँको सेवा आकर्षक अफर रहेको हुनाले यहाँ विभिन्न क्षेत्रका तथा मधेशबासी विद्यार्थीहरुको पनि उल्लेखनीय उपस्थिति देख्न पाईन्छ । यो पसल बालकोट चौक देखि ५० मिटर अगाडी लक्ष्मी सनराइज बैंक संगै रहेको छ । सस्तोमा स्तरीय चियाको कारण आसपास क्षेत्रका चिया पारखीहरुको साँझ बिहान घुइँचो लाग्नु यसै कुराको प्रमाण हो ।
स्मरणरहोस्, बिपिना खत्री केवल एक व्यावसायिक मात्र होइनन्, उदार स्वभाव र सहयोगी भावनाले ओतप्रोत भएकी परोपकारी महिला पनि हुन । आफ्नो घर परिवारका सदस्यहरुको जन्मदिनको अवसरमा बृद्दाश्रम, बालआश्रम तथा दिनदुःखीहरुलाई सहयोग गर्ने भएकी हुनाले उनि अन्य सामाजिक संघ संस्थासंग पनि आबद्ध रहेकी छिन । प्रत्येक तीन तीन महिनामा रेडक्रस सोसाइटी मार्फत डल्ली चिया पसल अगाडी रक्तदान कार्यक्रम हाम्रै आँखा अगाडी गर्दै आएकी छिन् ।
तसर्थ, बिपनाले चिया पसलबाट मुनाफा मात्र आर्जन गरेकी छैनन् बरु गरिब दुखीहरुको चहर्याइ रहेको घाउमा मलहम पट्टि लाउनपनि पछि पर्दिनन् । यद्यपि आजको समयमा एउटा व्यावसायीले बातबातमा उदारता एवं दया देखाइ रहनु हानिकारक एवं सिद्धान्तबिरुद्ध उभिएको मानिन्छ । तथापि उनलाई अकूत सम्पत्ति थुपार्नु छैन । मात्र खान पुगोस्, दिन पुगोस् भो…
यस्ती उच्चभावना बोकेकी बिपना खत्रीले आफ्नो हिम्मत र परिश्रमबाट घरपरिवारको लागि असल अभिभावकत्वको भूमिका निर्भाव गरेर अरु महिलाहरुको लागि समेत प्रेरणाकी श्रोत बनेकी छिन् । आँटगर्ने र पसिना बगाउनेहरुले यही माटोमा धेरैकुरो गर्नसक्ने रहेछ्न । वास्तवमा आजको संसार श्रम र पसिना बगाउनेहरुको मात्र हो । अतः हामीले आफ्नो चेलीबेटीहरुको व्यवसायलाई सदैव प्रोत्साहन र सम्मान गर्ने बानी बसाल्न सकेको खण्डमा नेपाल सरकारको मुख ताकेर बस्नुपर्ने छैन ।
डल्ली चिया पसलको आज पाँचौं बार्षिकोत्सवको अवसरमा बाँकी रहेका अधुरा सपनाहरू बिपनामा साकार हुँदै जाउँन तथा निकट भविष्यमा डल्ली ट्रेडमार्कले उपत्यकामा आफ्नो छुट्टै पहिचान बनाउन र गुणस्तरीयता कायम गर्न तथा अहोरात्र खटिरहने बिपना खत्री र डल्लीटीम सबैलाई अन्तर्मन देखी सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
प्रतिक्रिया