Logo

मुख्य समाचार

ओमिक्रोन : कोरोनाभाइरसको नयाँ भेरिअन्ट देखिएपछि अमेरिकामा यात्राका नियममा कडाइ



अमेरिकामा ओमिक्रोन भेरिअन्टका आठ सङ्क्रमित देखिएपछि राष्ट्रपति जो बाइडनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन्।

तर बाइडनले आफ्नो योजनामा लकडाउन भने नपर्ने र खोपसम्बन्धी यसअघिको निर्णयमा पनि परिवर्तन नहुने बताएका छन्।

न्यू योर्क राज्यमा पाँच जनामा तथा मिनेसोटा र कोलोराडोमा अहिलेसम्म ओमिक्रोनको सङ्क्रमण एकएक जनामा देखिएको छ।

अमेरिकामा बुधवार क्यालिफोर्निया राज्यमा पहिलो ओमिक्रोन सङ्क्रमण देखिएको थियो।

स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरिअन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षणहरू देखिएको बताएका छन्।

उक्त भेरिअन्ट अहिलेसम्म कम्तीमा २३ वटा देशमा देखिइसकेको छ।

अति उत्परिवर्तिन ओमिक्रोन बढी सङ्क्रामक छ वा खोपले काम नगर्ने जोखिम बढी छ भन्ने अझै स्पष्ट छैन।

बाइडनको योजनामा के छ ?

बिहीवार सार्वजनिक गरिएको विवरण अनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घन्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ।

यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागु हुन्छ।

विमान, रेल वा बसमा चढ्दा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नियम मार्च महिनासम्मका लागि लागु गरिएको छ।

अमेरिकी सरकारले निजी बिमा कम्पनीको माध्यमबाट लाखौं मानिसलाई घरमै बसेर कोरोनाभाइरसको निस्शुल्क परीक्षण गर्ने व्यवस्था गर्न खोज्दैछ।

बिमा गरेका मानिसहरू बाहेकका हकमा भने स्वास्थ्य केन्द्र र ग्रामीण क्षेत्रमा रहेका क्लिनिकमार्फत् त्यस्तो सुविधा दिइनेछ।

प्रशासनको योजना अन्तर्गत हिउँद महिनामा वयस्क मानिसहरूलाई बुस्टर खोप लगाउन प्रोत्साहन गरिने भन्ने पनि छ।

चार करोडभन्दा बढी अमेरिकीहरूले बुस्टर खोप पाइसकेका छन्।

तर बाइडनले भने १० करोड थप मानिस बुस्टरका लागि योग्य भएको तर उनीहरूले लिन बाँकी रहेको बताएका छन्।

बालबालिका र किशोरकिशोरीमाझ खोप लगाउने दर बढाउने प्रयास स्वरुप देशैभरि सयौँ परिवार खोप क्लिनिकहरूको व्यवस्था गरिनेछ।

अमेरिकासहित थुप्रै अन्य देशहरूले आठवटा दक्षिण अफ्रिकी देशहरूमाथि यात्रा प्रतिबन्ध लगाएका छन्।

स्वास्थ्य विज्ञहरूले यात्रा प्रतिबन्ध लगाउँदा आफूहरूलाई नयाँ भेरिअन्टबारे अध्ययन गर्न समय मिल्ने बताएका छन्।

सामान्य अवस्थामा फर्किन अझै टाढाको कुरा हो

बीबीसीका उत्तर अमेरिकी संवाददाता एन्थोनी जर्चरको विश्लेषण :

ओमिक्रोन भेरिअन्ट देखिएसँगै कोरोनाभाइरस फैलिन नदिनका लागि जो बाइडन नयाँ नियमहरूसहित अमेरिकी जनतासमक्ष देखिएका छन्।

उनका विगतका महत्त्वपूर्ण कदमहरू भन्दा यसपटक प्रशासनको योजना सरकारी आदेशबारे त्यति कडा छैन।

बरू बाइडनले परीक्षणका लागि पहुँचलाई जोड दिएका छन् र बुस्टर खोप लगाउनका लागि सबैलाई अनिवार्य नभए पनि प्रोत्साहित गरेका छन्।

उनले विद्यालयहरू खोल्ने र विद्यार्थीहरू कक्षा कोठामा हुनुपर्ने बारे पनि विशेष उल्लेख गरेका छन्।

बिहीवारका कदमहरूले सामान्य अवस्थामा फर्किन अझै टाढाको कुरा हो भन्ने बाइडनलाई थाहा छ भन्ने देखाउँछ।

-बिबिसी

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ८ : २४ बजे