Logo

खेलकुद

दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनल नजिक



काठमाडौं । टी–२० विश्वकप क्रिकेटको सुपर ८ मा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड पराजित भएको छ । शुक्रबार राति भएको निकै प्रतिस्पर्धात्मक खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ७ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले क्विन्टन डी ककको ६५ रनको इनिङ्सको मद्दतले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो ।

जवाफमा इंग्ल्यान्डको टोलीले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन मात्रै बनाउन सकेको थियो ।

कुनै समय इंग्ल्याण्डले १८ बलमा २५ रन बनाउनु परेको थियो भने ब्रुक र लिभिङ्स्टन बिचमा ४१ बलमा ७८ रनको साझेदारी भएको थियो । यस्तो अवस्थामा १८ औं ओभरको दोस्रो बलमा कागिसो रबाडाले लिभिङ्स्टनलाई पभेलियन पठाएर साझेदारी तोडेका थिए । उनले यो ओभरमा ४ रन मात्र दिए ।

अर्को ओभरमा आएका मार्को जान्सनले मात्र ७ रन बनाए । अन्तिम ६ बलमा १४ रन बनाउनु परेको थियो । तैपनि, इङ्गल्याण्डको आशा जीवित थियो, किनभने ह्यारी ब्रुक क्रीजमा थिए र आफ्नो अर्धशतक पूरा गरेका थिए । उनलाई अन्तिम ओभरको पहिलो बलमा एनरिक नोट्जेले आउट गरेपछि इंग्ल्याण्ड धरापमा परेको थियो ।

उनले अन्तिम ओभरमा ६ रनमात्रै दिएपछि अन्ततः दक्षिण अफ्रिका ७ रनले विजयी भयो ।

दक्षिण अफ्रिकी टोलीले जारी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

अफ्रिकाले समूह डीका आफ्ना चारवटै खेल जितेको छ भने अब सुपर ८ मा पनि आफ्ना दुवै सुरुवाती खेल जितेका छ । यसअघि दक्षिण अफ्रिकाले अमेरिकालाई हराएको थियो । यो जितसँगै दक्षिण अफ्रिकाले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

दक्षिण अफ्रिका दुई खेलबाट दुईवटैमा जित निकालेको छ । यो टोली चार अंकसहित समूह दुईको शीर्ष स्थानमा छ । यो पराजयका बाबजुद इंग्ल्याण्डको टोली दुई खेलबाट एक जित र एक हारका साथ दुई अंकसहित दोस्रो स्थानमा छ ।

१६३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डको सुरुवात राम्रो हुन सकेन र ६१ रनमा चार विकेट गुमाएको थियो । कागिसो रबाडाले फिल साल्टलाई आउट गर्दै इंग्ल्याण्डलाई पहिलो झटका दिएका थिए । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका साल्टले यो खेलमा खास केही गर्न सकेनन् र ११ रन बनाएर आउट भए । यसपछि केशव महाराजले १६ रनको स्कोरमा जोनी बेयरस्टोलाई पभेलियन पठाए ।

इंग्ल्यान्डको टोली यी झट्काहरूबाट बाहिर आउनुअघि नै महाराजले कप्तान जोस बटलरलाई आउट गरेर इंग्लिस टोलीलाई ठूलो झट्का दिएका थिए । बटलर १७ रन बनाएर तेस्रो ब्याट्सम्यानका रुपमा आउट भए । त्यसपछि ओटनियल बार्टम्यानले मोइन अलीलाई ९ रनको स्कोरमा आउट गरेपछि इंग्ल्याण्डको इनिङ्स खस्कियो ।

त्यसपछि ह्यारी ब्रुक र लियाम लिभिङस्टोनले इंग्ल्यान्डको इनिङ्सलाई सम्हालेका थिए । दुवै ब्याट्सम्यानले आक्रामक ब्याटिङ गर्दै दक्षिण अफ्रिकाका बलरलाई दबाब दिए । ब्रुक र लिभिङस्टोनबीच पाँचौं विकेटका लागि ७८ रनको साझेदारी भएको थियो ।

जसका कारण इंग्ल्याण्ड कठिन परिस्थितिबाट बाहिरिएर सुखद स्थितिमा पुगेको थियो । तर, रबाडाले लिभिङस्टोनलाई आउट गर्दै यो साझेदारी तोडेर दक्षिण अफ्रिकालाई खेलमा फर्काए । लिभिङस्टोन १७ बलमा ३३ रन बनाएर आउट भए । अन्तिम ओभरमा इंग्ल्याण्डलाई जितका लागि १४ रन चाहिएको थियो र एन्रिच नोर्टजेले पहिलो बलमा ब्रुकलाई आउट गरेर इंग्ल्याण्डलाई ठूलो झटका दिएका थिए । अन्ततः यो रोमाञ्चक खेलमा इंग्ल्याण्डको टोलीले जित हात पार्न सकेन र हार बेहोर्नुपरेको थियो ।

यसअघि इङ्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपनि क्विन्टन डी ककले उत्कृष्ट ब्याटिङ गर्दै यो निर्णयलाई गलत साबित गर्न धेरै बेर लागेन ।

दोस्रो ओभरमा मोइन अलीविरुद्ध चौका र छक्का प्रहार गरेपछि आर्चरको लगातार बलमा दुई छक्का र एक चौका प्रहार गर्दै डी ककले आफ्नो हात खोलेका थिए ।

इनिङ्सको चौथो ओभरमा रिजा हेन्ड्रिक्सले पनि चौका प्रहार गरेपछि दक्षिण अफ्रिकाले २१ रन बनाएको थियो । डि ककले छैठौं ओभरमा साम कुरान विरुद्ध आफ्नो इनिङ्सको चौथो छक्का प्रहार गर्दै दक्षिण अफ्रिकालाई पावरप्लेमा बिना कुनै क्षति ६३ रन बनाउन मद्दत ग¥यो । उनले अर्को ओभरमा एक रन लिए र २२ बलमा आफ्नो अर्धशतक पूरा गरे । यो जारी टी–२० विश्वकपमा संयुक्त रूपमा सबैभन्दा छिटो अर्धशतक हो । डि ककअघि अमेरिकाका आरोन जोन्सले क्यानडाविरुद्ध २२ बलमा अर्धशतक बनाएका थिए । यसअघि डि ककले अमेरिकाविरुद्ध २६ बलमा अर्धशतक प्रहार गरेका थिए ।

दक्षिण अफ्रिकाका लागि डी ककले उत्कृष्ट ब्याटिङ गरे र रिजा हेन्ड्रिक्ससँग मिलेर पहिलो विकेटका लागि ८६ रन जोडे तर मोइन अलीले हेन्ड्रिक्सलाई आउट गरेर यो साझेदारी तोडेका थिए । हेन्ड्रिक्सले २५ बलमा १९ रन बनाउन सके । आदिल रशिदको बलमा मार्क वुडले क्याच लिने क्रममा बललाई भुइँमा लागेपछि डि ककले पनि जीवनदान पाए । त्यस तीब्र गतिका आर्चरले डी ककलाई आउट गरे ।

राम्रो सुरुवातपछि दक्षिण अफ्रिकाको इनिङ्स कमजोर भयो र नियमित अन्तरालमा विकेट गुमायो । त्यसपछि राशिदले दक्षिण अफ्रिकाका कप्तान एडेन मार्करामलाई आउट गरेपछि टोलीको स्कोर ८६ रनबाट बढेर १५ औं ओभरमा चार विकेटमा ११५ रन पुगेको थियो । तर, अन्तिम ओभरमा डेभिड मिलरले तुफानी ब्याटिङ गरे । आर्चरले अन्तिम ओभरमा लगातार दुई बलमा मिलर र मार्को जेन्सेनको विकेट लिएर दक्षिण अफ्रिकालाई १६३ रनमा सीमित गरे । यो मैदानमा यो विश्वकपको पहिलो इनिङ्सको सबैभन्दा कम स्कोर हो । मिलर अर्धशतक बनाउन चुके र २८ बलमा चार चौका र दुई छक्काको मद्दतले ४३ रन बनाएर आउट भए । इंग्ल्याण्डका आर्चरले ३ विकेट लिँदा मोइन अली र आदिल रसिदले एक एक विकेट लिए ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ७ : १९ बजे