Logo

Breaking News 1

अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिन कडाई गर्दै अष्ट्रेलिया



काठमाडौं । अष्ट्रेलियाले आफ्नो अध्यागमन व्यवस्थामा सुधार गर्ने नीति अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिने प्रवन्धमा कडाई गर्ने भएको छ । पर्यटक भिसालाई विद्यार्थीमा परिवर्तन गर्ने नीति बन्द गर्ने त्यहाँको अध्यागमन विभागले जनाएको छ ।

अष्ट्रेलियाको अध्यागमन विभागले गत हप्ता घोषणा गरेझैं यो नीति गत वर्ष जारी गरिएको माइग्रेसन रणनीतिको प्रमुख प्रतिबद्धता हो । यसलाई कार्यान्वयन गर्न थालिएको छ । यसले विद्यार्थी र अन्य अस्थायी भिसा वाहकहरूलाई अष्ट्रेलियाको आफ्नो बसाइलाई केही समय लम्याउने रहरमा भने वाधा पर्ने छ । ‘भिसा हपिङ’ मा प्रतिबन्ध लगाउन यस्तो कदम चालिएको विभागले जनाएको छ ।

गत वर्षको मध्यदेखि यस वर्षको मे महिनासम्म पर्यटकबाट विद्यार्थी भिसामा परिणत हुन आवेदन दिनेको संख्या ३६ हजार पुगेको अवस्थामा यो कदम चालिएको हो । ‘अस्थायी स्नातक भिसावाहकहरूले ‘अनशोर’ विद्यार्थी भिसाका लागि आवेदन दिन सक्ने छैनन्’, विभागले भनेको छ ।

‘हामीले विरासतमा पाएको माइग्रेसन प्रणाली पूर्ण रूपमा भत्किएको थियो, र हाम्रो लक्ष्य अष्ट्रेलियाका लागि काम गर्ने सानो, राम्रो योजनाबद्ध, थप रणनीतिक आप्रवासन प्रणाली निर्माण गर्ने हो,’ गृह मामिला र साइबर सुरक्षा मन्त्री क्लेयर ओनिलले आफ्नो वेबसाइटमा लेखेका छन् ।

‘हाम्रो माइग्रेसन रणनीतिले अन्तर्राष्ट्रिय शिक्षामा रहेका कमीकमजोरीहरू बन्द गर्ने स्पष्ट योजनाको रूपरेखा प्रस्तुत गरेको छ र यो योजनालाई कार्यान्वयन गर्ने अर्को चरण हो । हामीलाई आवश्यक पर्ने सीपहरू प्रदान गर्ने तर लूपल्स र शोषणमा व्यापार नगर्ने माइग्रेसन प्रणाली चाहिन्छ’ मन्त्रीले भनेका छन् ।

गत वर्षको अन्त्यदेखि, अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि भिसामा कडाइ गर्ने धेरै नीतिहरू ल्याएको छ । आगामी दुई वर्षभित्र आप्रवासीको संख्या हालको संख्याको आधामा झार्ने लक्ष्य राखिएको छ । फेब्रुअरीमा अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसामा बस्ने समयलाई चारदेखि छ वर्षबाट घटाएर दुईदेखि चार वर्षमा पु¥यायो । भर्नाको जोखिम हेरेर विश्वविद्यालयहरूलाई पनि तीन समूहमा विभाजन गरिएको थियो ।

गत महिना अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि वित्तीय प्रमाण स्वरुप अष्ट्रेलियन डलर २९ हजार ७१० मा बढाएको छ, जुन पहिलेको तुलनामा२० प्रतिशत बढी हो । अष्ट्रेलिया विश्वको सबैभन्दा लोकप्रिय अध्ययन गन्तव्य मध्ये एक मानिन्छ ।

अन्तर्राष्ट्रिय शिक्षा अष्ट्रेलियाको सबैभन्दा ठूलो निर्यात उद्योगहरू मध्ये एक हो । गत वर्ष यसको कूल आय अष्ट्रेलियन डलर ३६ दलशमल ४ अर्ब थियो । यस वर्षको सुरुदेखि मार्चको अन्त्यसम्म, अष्ट्रेलियामा ७ लाख ४० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू थिए ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १० : ४९ बजे