Logo

समाचार

पूर्व–पश्चिम बरुवा बसपार्क बिहीबारदेखि सञ्चालनमा



उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका–१३ को गाईघाटस्थित पूर्वी क्षेत्रको बरुवा नदी किनार क्षेत्रमा निर्माण गरिएको पूर्व–पश्चिम बरुवा बसपार्क बिहीबारदेखि औपचारिकरूपमा सञ्चालन सुरु भएको छ ।

बिहीबार त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरेसँगै जिल्लाको मात्र नभई प्रदेश नं १ को नै बृहत् क्षेत्रफलमा फैलिएको बसपार्क सञ्चालन भएको त्रियुगा नगरपालिकाले बताएको छ । मदन भण्डारीमार्गअन्तर्गत उदयपुरको गाईघाट भएर सञ्चालन हुने रात्रिसेवाका बस पार्किङ व्यवस्थापन र बस सञ्चालन गर्नेगरी बिहीबारदेखि बसपार्कबाट रात्रिसेवाका बस सञ्चालन गरिएको त्रियुगा नगरपालिकाका प्रमुख चौधरीले बताए ।

बसपार्क झण्डै १४ बिघा क्षेत्रफलमा फैलिएको छ भने आठ बिघा क्षेत्रफलमा बसपार्कको भौतिक संरचनासहित टिकट काउण्टर, चमेनागृहसहित अन्य भौतिक संरचना निर्माण भएका छन् । बसपार्कमा एकैपटक दर्जनौँ बस पार्किङ गर्न सक्ने क्षमता रहेको त्रियुगा नगरपालिकाले जनाएको छ । हाल यस बसपार्कबाट एक दर्जन रात्रिसेवाका बस सञ्चालन सुरु गरिएको हिमाली यातायात व्यवसायी सङ्घ गाईघाटले जनाएको छ ।

यस बसपार्कबाट सञ्चालन हुने रात्रिसेवाका बस राजधानी काडमाडौँ, बुटवल, भैरहवा, पोखरालगायत दूरीका बस पार्किङ र सञ्चालन गरिएको हो । यस्तै प्रदेश नं १ को पूर्वबाट मदन भण्डारीमार्ग हुँदै सञ्चालन हुने अन्य रात्रिसेवाका बस पनि बसपार्कमा पार्किङ गर्न सकिने गरी बसपार्क सञ्चालन भएको हिमाली यातायात व्यवसायी सङ्घ गाईघाटले जनाएको छ ।

जिल्ला सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनारमा रहेको त्रियुगा बसपार्कबाट यसअघि सबै यातायातका साधन सञ्चालन हुँदै आएका भए पनि अब रात्रिसेवाका बस र अन्य ढुवानी सेवाका सवारी यस बसपार्कबाट पार्किङ गरेर सञ्चालन गरिएको त्रियुगा नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  २ : ५२ बजे