Logo

मुख्य समाचार

‘चीन अध्ययनको गन्तव्य बन्दा नेपाललाई फाइदा छ’



काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली विद्यार्थीका लागि चीन प्रमुख गन्तव्य भइरहँदा यसले दुई देशको सम्बन्धलाई थप बलियो बनाएको बताएका छन् ।

नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले मंगलबार काठमाडौंमा आयोजना गरेको एक दिवसीय चिनियाँ उच्च शैक्षिक प्रदर्शनी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले चीनमा अध्ययन गरेका विद्यार्थीले नेपालमा राम्रो योगदान दिइरहेको बताए ।

नेपाल र चीनका विभिन्न विश्वविद्यालयबीच सहकार्य भएको थाहा पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनले नेपालका विद्यार्थीहरूले ठूलो संख्यामा चीनको भ्रमण गर्ने गरेको र त्यसले आफ्नो शैक्षिक आवश्यकताहरू पूरा गर्ने गरेको मन्त्री श्रेष्ठको भनाइ छ । हरेक वर्ष चिनियाँ भाषाका स्वयंसेवी शिक्षकहरू पनि नेपाल आएर शैक्षिक विकासमा योगदान दिएको भन्दै उनले धन्यवाद पनि दिए ।

त्यस्तै, नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रदर्शनीमा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको बताए । यो प्रदर्शनीले नेपाल–चीन सम्बन्ध अझ बलियो बनाउने विश्वास उनले व्यक्त गरे । यो प्रदर्शनी नेपाल र चीनबीचको सबैभन्दा ठूलो उच्च शिक्षा सहयोग परियोजना रहेको बताउँदै उनले यसमा ३१ वटा विभिन्न चिनियाँ विश्वविद्यालय सहभागी रहेको बताए ।

परराष्ट्रमन्त्री श्रेष्ठ र राजदूत सोङले संयुक्त रुपमा उद्घाटन गरेको प्रदर्शनीमा चीनका विभिन्न सहरमा रहेका चीन र विश्वमै अब्बल ठहरिएका ३१ वटै विश्वविद्यालयका स्टल छन् । ती स्टलमा नेपाली विद्यार्थी र तिनका अभिभावकहरूलाई विस्तृत रूपमा चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्ति लगायतका विभिन्न जानकारी गराउने परिषद्का अध्यक्ष डा.हरिश्चन्द्र साहले बताए ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ४ : ५४ बजे