Logo

मुख्य समाचार

महानगरको बूँदा नम्बर ५६ कार्यक्रम



काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनमा महानगरको समग्र क्षेत्रको समुन्नति र संरक्षणका लागि वृहत कार्यक्रम प्रस्तुत गरिएको छ ।

प्रमुख बालेन्द्र शाहले महानगरको आगामी नीति भनेर सबै कार्यक्रमहरुको आधारका रुपमा यस्तो सूत्रवध्द खाका प्रस्तुत गरेका छन्, जस्तो कि— ‘सांस्कृतिक शहर, समृध्द महानगर’ को परिकल्पनालाई साकार पार्न नेपालको संविधान तथा कानूनले प्रत्याभूत गरेको स्थानीय सरकारको अधिकारको प्रयोग र काठमाडौंको ऐतिहासिक र मौलिक पहिचानलाई अभिवृध्दि गर्दै काठमाडौं महानगरलाई सुरक्षित, समावेशी, दीगो र जीवन्त शहरको रुपमा विकास गरिनेछ ।’

यसैको विस्तारित स्वरुपलाई आगामी वर्षका लागि नीति तथा कार्यक्रम भनेर सभामा प्रस्तुत गरिएको छ ।

महानगरका धेरै नीति कार्यक्रम मध्ये एउटा कार्यक्रम निकै रोचक र महत्वपूर्ण रहेको छ । जसले शहरीकरणको कारण वास समेत बस्न नपाएका पंक्षी लगायतका प्राणीको संरक्षण गर्न महानगरले छुट्टै कार्यक्रम प्रस्तुत गरेको छ । यो आफैंमा प्रशंसनीय सोच, विचार र योजना हो ।

नीति कार्यक्रमको ५६ नम्बर बूँदामा भनिएको छ— ‘नदी किनार तथा अन्य क्षेत्रहरुलाई चराचुरुङ्गी र जीवजन्तुहरुको वासस्थान सुनिश्चितताका लागि संरक्षण कार्यक्रम कार्यान्वयन गरिनेछ । ग्रीन रुफ प्रवर्धनका लागि घरधनीहरुलाई प्रोत्साहित गरिने छ ।’

घरको क्षेत्रफल बढाउन नदीको वहाव क्षेत्र संकुचित बनाउने र करिडोर सडक समेत साँघुरो पार्ने कार्यमा सक्रिय ठूलो गिरोहले त्यसक्षेत्रका हरियाली समाप्त पार्न अतिक्रमण गरेको हो । जसले गर्दा बिरुवा वनस्पति उम्रिन र हुर्कन पाएनन् । पछि महानगरपालिकाकै पहलमा रोपिएका अनेक प्रजातिका बिरुवा वनस्पतिहरु पनि मुस्किलले हुर्किएका छन् । महानगरको नयाँ नीति अनुसार नदी किनारा क्षेत्रलाई हरियालीयुक्त बनाउन सकियो भने पशुपंक्षी लगायतका प्राणीली बास पाउनेछन् ।

उनीहरुको आवागमन भयो भने स्थानीय बासिन्दालाई समेत प्राकृतिक वातावरण प्राप्त हुन्छ र निरश बन्दै गएको शहरी जीवनमा ताजगी आउँछ । महानगरको यो नवीन सोचमा आधारित योजना सफल बनाउन सबै नागरिकको पनि उत्तिकै सहभागिता जरुरी छ ।

महानगरले शिक्षा र युवा स्वरोजगारीलाई निकै महत्व दिएको छ । ज्येष्ठ नागरिकको हेरचाह र स्वास्थ्य सेवा पनि उत्तिकै उच्च प्राथमिकतामा राखिएको छ । महानगरको सांस्कृतिक विविधताको संरक्षण, जिर्णोध्दार र पर्वहरुको प्रचार पनि महानगरको महत्वपूर्ण कार्ययोजनामा परेका छन् । विपन्न वर्गको जीवनयापन प्रति चासो राख्दै आकर्षक कार्यक्रम ल्याउने वाचाले महानगरप्रति सर्वसाधारणको भरोसा बढेर जाने देखिएको छ ।

सार्वजनिक सम्पत्तिको संरक्षण र प्रवध्र्दनमा देखिएको सक्रिय भूमिकाले महानगरलाई विश्वास गर्ने आधार पनि बलियो बन्दै गएको छ । १५ अधिवेशनमा प्रस्तुत नीति र योजनाहरुको सफल कार्यान्वयनले वृहत क्षेत्रको हित गर्ने निश्चित छ । यसले स्थानीय निकायको उपस्थिति पनि सिध्द हुने छ । देशको राजधानी र ऐतिहासिक, सांस्कृति र पुरातात्विक महत्वका कैयन स्थानहरु रहेको काठमाडौं महानगर क्षेत्रको समग्र बिकास भनेको देशकै बिकासको लागि पनि प्रेरणा र हौसलाको बिषय हुने नै छ ।

नयाँ नीति र कार्यक्रम आउनु नै महत्वपूण कुरा होइन । यसको सफल कार्यान्वयन ठूलो पक्ष हो । महानगरले विगतमा सम्पन्न गरेका अपत्यारिला जस्ता लाग्ने कार्यले उसको विश्वसनियता बढेको देखिन्छ । यसलाई जोगाएर आगामी दिनहरुमा यसैगरी दृढनिश्चयी बनेर काम गर्दै अघि बढेमा काठमाडौं महानगरपालिका साँच्चै नै राजधानीवासी र राजधानीको पनि अभिभावक भएको पुष्टि हुने छ ।

प्रकाशित मिति : २ असार २०८१, शनिबार  ५ : ३२ बजे