काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । जनकपुरधाममा चलिरहेको महाधिवेशनबाट यादव निर्विरोध बनेका हुन् ।
निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो। जसमा अध्यक्ष पदको लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन। मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा महाधिवेशन जारी छ ।
२०१ सदस्यीय केन्द्रीय समितिका लागि निर्वाचन प्रक्रिया भइरहेको छ । पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आएका यादव राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन् ।
प्रतिक्रिया