Logo

मुख्य समाचार

भारतको विदेशमन्त्रीमा फेरि जयशंकर, कसले कुन मन्त्रालय पाए ?



काठमाडौं । चुनावी परिणामले सबैलाई भाग पु¥याएर सरकार चलाउनुपर्ने अवस्थामा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक विगतभन्दा निकै ठूलो मन्त्रिपरिषद् गठन गरे । भारतीय इतिहासमै लगातार चुनाव जितेर तेश्रो पटक प्रधानमन्त्री हुने दोश्रो नेता बनेका मोदीले यसपटक ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

जबकि विगतमा उनको दल भारतीय जनता पार्टीले बहुमत ल्याउँदा मोदी मन्त्रिपरिषद् सन् २०१४ मा ४६ र सन् २०१९ मा ५२ सदस्यीयमात्रै थिए । यसपटक बहुमत नपाएकै कारण प्रधानमन्त्री मोदीले सबैलाई समेटेर मन्त्रिपरिषद् गठन गर्न बाध्य भए । तर शक्तिशाली मन्त्रालयहरूमा भने पुरानै नेताहरुलाई दोहो¥याएका छन् ।

प्रधानमन्त्री मोदीले सोमबार अमित शाहलाई गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् भने राजनाथ सिंहलाई रक्षा र निर्मला सीतारमणलाई अर्थ मन्त्रालयमा जिम्मेवारी दिएका छन् । नेपालले चासोका साथ लिएको विदेश मामिला मन्त्रालयमा पनि डा एस जयशंकर दोहोरिएका छन् । जयशंकर यसअघि पनि विदेशमन्त्री नै थिए ।

प्रधानमन्त्री मोदीले केन्द्रीय मन्त्रिपरिषद्मा नयाँ प्रवेश गर्नेहरुमध्ये शिवराज सिंह चौहानलाई कृषि तथा ग्रामीण विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । चौहान मध्य प्रदेशका पूर्वमुख्यमन्त्री हुन् । मोदीले भाजपाका अध्यक्ष जेपी नड्डालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा फर्काएका छन् । उनी मोदीको पहिलो कार्यकालमा स्वास्थ्यमन्त्री थिए ।

त्यस्तै, यातायात मन्त्रीमा नितिन गडकरी दोहोरिएका छन् भने हरियाणाका पूर्वमुख्यमन्त्री मनोहरलाल खट्टरलाई शहरी विकास र ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । अश्विनी वैष्णवले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । धर्मेन्द्र प्रधान शिक्षामन्त्री बनेका छन् भने पियुष गोयलले उद्योग बाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री मोदीले किरेन रिजिजुलाई संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन् भने अर्जुनराज मेखवाललाई कानून मन्त्रालयकै जिम्मेवारीमा दोहो¥याएका छन् । भुपेन्द्र यादव बातावरण मन्त्रालयको जिम्मेवारीमा आएका छन् ।
एचडी कुमारस्वामीले ठूला उद्योग मन्त्रीको जिम्मेवारी पाएका छन् भने जितनराम माझीले साना तथा मझौला मन्त्रालय दिइएको छ । कुमारस्वामी जेडी सेक्युलर दलबाट हुन् भने माझी एचएएम सेक्युलरबाट मन्त्री बनेका हुन् । त्यस्तै, जनता दल संयुक्तका लालन सिंहलाई मत्स्यपालन तथा पशुपालन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, टीडीपीका राममोहन नायडुलाई नागरिक उड्यन मन्त्रालय र एलजेपीका नेता निराग पासवानलाई खाद्य प्रशोधन मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, सीआर पाटिलले जलशक्ति मन्त्रालय पाएका छन् । गजेन्द्रसिंह शेखावत संस्कृति र पर्यटन मन्त्री बनेका छन् । गृहमन्त्री अमित शाहले सहकारी मन्त्रालय र अर्थमन्त्री सीतारमणले कर्पोरेट मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् ।

वीरेन्द्र कुमारलाई सामाजिक न्याय तथा जुआल ओरमलाई जनजाति मामिला मन्त्री बनेका छन् । प्रधानमन्त्री मोदीले प्रल्हाद जोशीलाई उपभोक्ता मामिला, जी किशन रेड्डीलाई खानी र गिरिराज सिंहलाई ग्रामीण विकास तथा पञ्चायतको जिम्मेवारी दिइएको छ । अन्नपूर्ण देवी महिला तथा बालविकास मन्त्री बनेकी छन् । आरएलडी नेता जयन्त चौधरीलाई सीप विकास र उद्यमशीलता मन्त्रालय तथा शिवसेना नेता जाधव प्रतापराव गणपतरावले आयुष मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ९ : ०० बजे