Logo

समाचार

प्रचण्डको केपी ओलीलाई प्रश्न: पार्टी फुटाएर एकता महाधिवेशन भन्ने ?



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्रपा महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झटारो हानेका छन् । 

उनले ओलीले पार्टी फुटाएर तीन टुक्रा बनाएको तर महाधिवेशन गर्दा भने एकताको महाधिवेशन भनेको भन्दै कटाक्ष गरेका हुन् ।

आज भृकुटीमण्डपमा आयोजित उद्घाटसत्रलाई सम्बोधन गर्दै उनले साँचो अर्थमा एकता महाधिवेशन राप्रपाले गरेको भन्दै बधाई तथा शुभकामना दिए ।  

प्रचण्डले भने, ‘तपाईँहरुले जे गर्नुभयो यो महाधिवेशनको नाम पनि त्यही राख्नुभयो । तपाईँहरू तीनवटा मिल्नुभयो र महाधिवेशनको नाम एकता महाधिवेशन राख्नुभयो ।’ प्रचण्डले अगाडि भने, ‘तर, नेकपा पार्टी फुटाएर तीन टुक्रा पार्ने अनि एकता महाधिवेशन भन्ने पनि भर्खरै हामीले देखेका छौँ । त्यस्तो झूटो कुराचाहिँ तपाईँहरुले गर्नुभएन । पार्टी फुटाउने अनि नाम एकताको राख्ने ?, तपाईँहरुले ठीक गर्नुभयो । ’

यस्तै, प्रचण्डले राजनीतिक विचार भिन्न भए पनि राष्ट्रियताका सवालमा राप्रपा र माओवादीको गोत्र एउटै भएको बताएका छन् ।

वैचारिक अन्तरविरोध भए पनि राष्ट्रियता र देशभक्तिको सवालमा राप्रपासँग माओवादीको धारणा मिल्न जाने बताए । 

गणतन्त्रवादी र राजावादीको मुख्य विचार नमिले पनि देशको हितको लागि भने आफूहरुको कुरा मिल्ने गरेको प्रचण्डको भनाई रहेको थियो । 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ४ : ४३ बजे