आज मेरो जन्मदिनका अवसरमा मेरो प्रशंसामा साथी र भाइहरुका जति अभिव्यक्ति सुनेँ, त्यसका लागि म कृतज्ञ छु । तर, ती अभिव्यक्ति अनुरुप म छु कि छैन ? ठहर्याउन सकेको छैन । हामीले नेपालको पत्रकारितालाई जुन विन्दुमा पुर्याउनुपर्ने थियो नेपाली समाजको परिवर्तनका लागि, त्यो काम हामीले गर्न सकेका छैनाै । नेपालमा किन वाल्टर लिपम्यान र नोम चोम्स्की जन्मिएनन् जस्तो लाग्छ कहिलेकाहीं । लिपम्यान र चोम्स्की जस्ता विश्लेषक किन देखापर्न सकेनन् जस्तो लाग्छ कहिलेकाहीं ।
साथीभाइहरुले खाली अमेरिकनलाई मात्र सम्झियो भन्नुहोला । तर, त्यसो होइन । भारतका खुशवन्त सिंह, दिलिप पदगाँवकर, कुलदीप नायरजस्ता विचारक–पत्रकार किन जन्मिएनन् जस्तो लाग्छ कहिलेकाहीं । साहू जैन र रामनाथ गोयन्काजस्ता व्यक्तित्व किन व्यवसायमा आउँदैनन् ? नेपालका सञ्चार व्यवसायीहरु किन सधैं विवादमा आउँछन् ? प्रश्नहरु मनमा खेल्न थाल्दछन् अनगिन्ती !
संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछि नेपाली पत्रकारिता व्यवसायिक भएको छ । यो सही कुरा हो । पत्रकारिता व्यवसायले नाफा कमाउनु पर्छ, त्यो पनि सही कुरा हो । नाफा नकमाए पत्रकार तथा संस्थाका कर्मचारीहरुलाई कसरी तलब र सुविधा दिने ? तर पत्रकारिताले आफ्नो देश, सबै नेपाली भाषा र नेपालका जनताप्रति सम्मान जगाउनसक्नुपर्छ । यो मुख्य कुरा हो ।
आजको समाज विश्रृखंल छ । बुद्धिजीवीहरुसँग र अरु साथीहरुसँग साँझपख कफी खाँदै कुरा गर्यो भने सामाजिक सञ्जालले हामीलाई बर्बाद गर्यो भन्छन् ।
मलाई के लाग्छ भने सामाजिक सञ्जालले हामीलाई बर्बाद गरेको छैन । हामीले हामी आफैलाई बर्बाद गरिरहेका छौं । किनभने यो देशमा यत्रो वर्ष भइसक्यो, म नै ७२ वर्षको भइसकेँ, दमन (पूर्वसभामुख दमननाथ ढुंगाना) दाई कति वर्षको भइसक्नुभयो । देशमा, पञ्चवर्षीय योजनाहरु आएका छन् । राणाबाट परिवर्तन, राजाबाट परिवर्तन, त्यसपछि राजालाई समाप्त गरेर अहिले हामी संघीय गणतन्त्रमा छौं । यति ठूला परिवर्तन हुँदा पनि हाम्रो देशका जनताले राम्रोसँग एकछाक खान पाएका छैनन् । कामको खोजीमा खाडी लगायतका अन्य देशमा भौंतारिनु परेको छ । यसलाई हामी हाम्रो योग्यता भनौं ? यत्रो हराभरा वातावरण भएको, विशाल नदीहरुले घेरिएको समृद्ध देशमा हामी नेपाली जनता किन चरम गरिबीमा बाँचिरहेका छौं ? किन गरिबीको पनि पिँधमा बाँच्न बाध्य छौं हामी ? यो कुरालाई हामीले सोच्नुपर्छ ।
यस्तो गरिबीमा बाँच्ने मानिसहरुले सामाजिक सञ्जालमार्फत आफ्नो कुण्ठा ओकल्ने र आफैंप्रति व्यंग्य गर्ने मौका पाएका छन् । २००७ सालदेखि अहिलेसम्म देशमा भएको परिवर्तनको प्रतिफल जनताले पाएनन् । सामाजिक सञ्जालले उनीहरुलाई कुण्ठा व्यक्त गर्ने स्थान दिएको छ । व्यवसायिक पत्रकारिताले आफ्नो कर्तव्य पूरा गर्न नसकेपछि यस्तो अवस्था आउनु अस्वाभाविक होइन ।
मलाई के लाग्छ भने हामी पत्रकारहरुले गरिब जनताको पक्षमा आफुलाई सक्रिय र सक्षम बनाउन सकेका छैनौं । हामी पत्रकारहरुले स्वाभिमानका साथ जनताको पक्षमा काम गर्ने हो भने राजनीति आफ्नो तहमा आउन बाध्य हुन्छ । राजनीतिक नेताहरुको घाँटीमा नैतिकताको डोरी कस्ने काम हामीले नै गर्ने हो ।
मेरो कुरा गर्नुहुन्छ भने, पत्रकारिताकै सिलसिलामा म पहिलेको ७५ र अहिलेको ७७ जिल्लाको टुप्पामा पटक पटक पुगेको छु । सबै जिल्लामा मेरा कर्मठ साथीभाइहरु छन् । ती मध्ये कतिपयका लागि पत्रकारिताको पेसा नै बाध्यता बनेको छ । मेरा धेरै सक्षम पत्रकार भाइहरु पछिल्लो समयमा पालिका र सरकारी निकायका हाकिमहरुको प्रेस सल्लाहकार बसेका छन् । यो अस्वाभाविक होइन । पत्रकारिता व्यवसायिकता हुन नसकेपछि कुनै न कुनै व्यवसाय गरेर ज्यान त पाल्नैपर्छ । जानेको त्यही छ, पत्रकारिताको काम । जनसम्पर्कको काम । हिजो जनताको रिर्पोटिङ गर्ने साथीहरु अहिले नेताको रिर्पोटिङ गर्न थालेका छन् । यो उनीहरुको चाहना वा मनसाय होइन, बाध्यता हो ।
हाम्रा आदर्शहरु स्खलित भएका छन्, हामी आदर्शको बाटो पहिल्याउनै नसक्ने भएका छौं । हाम्रो राजनीतिले कुनै दिशाबोध गर्न सकेको छैन । हाम्रा राजनीतिक दलहरुले कुनै मार्गदर्शन गर्न सकेका छैनन् । जनयुद्ध लडेर आएका प्रधानमन्त्री पाएका छौं, तीन तीन पटक । दुई पटक त उहाँ दायाँ र बायाँ पल्टिइ सक्नुभयो, तै अहिलेसम्म जनताले उहाँलाई ‘पल्टुराम’को नाम दिएका छैनन् । भोलि फेरि यही दोहोरिन्छ । त्यो निश्चित नै छ । यस्तो अव्यवस्थालाई सम्हाल्न नसक्ने नेता र सत्ताको कुनै काम छैन । राजनीतिक दलको पनि काम छैन ।
हिजो पहिलो जनआन्दोलनका प्रारम्भमा सर्वमान्य नेता गणेशमान सिंहबाट प्रेरित भएर मदन भण्डारीले मनमोहन अधिकारीको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी–लेनिनवादी गठन गर्नु भएको थियो । त्यो एकताबाट कांग्रेस र एमाले मिलेर देश बनाउने सन्देश प्रसारित भएको थियो जनताको बीचमा । आजको मितिसम्म कांग्रेस र एमाले मिलेर देशको विकासमा खास योगदान दिन सकेनन् ।
शासन व्यवस्था सुव्यवस्थित गरेर लान नसकेको यो पहिलो पटक होइन । एकतन्त्रीय शासन व्यवस्थाबाट बहुदलीय शासन व्यवस्थामा कसरी लैजाने भन्ने परिकल्पना कसैसँग थिएन । जोसँग परिकल्पना थियो त्यसलाई पाखा लगाइयो ।
धेरै कारणले हामी पत्रकारहरु बढी सचेत हुनुपर्छ, बढी विवेकशील हुनुपर्छ । हाम्रो शासन सत्तामा बस्नेहरुलाई घोची रहनु पर्दछ र घच्घच्याइ रहनुपर्छ । घच्घच्याएर भएन भने चिथोर्नै पर्छ कलमले ।
अहिले साथीभाईहरुले चिथोर्ने खालको कलम बोकेको देखिँदैन । मसी कलमभित्र सुकेको जस्तो लाग्छ । मसी सुक्न नदिनुहोला । मसीलाई मात्र सुक्न नदिएर राख्नुभयो भने अक्षरले क्रान्ति गर्ने हो, बन्दुकले क्रान्ति गर्नेहरुको नियत र हालत हामीले देखिहाल्यौं । आजसम्म अक्षर विनाको क्रान्ति देखिएको छैन । कार्ल माक्र्सले ‘दास क्यापिटल’ नलेखेको भए कम्युनिष्ट क्रान्ति हुँदैन थियो होला । क्रान्ति अक्षरले नै गर्ने हो, विचारले नै गर्ने हो ।
नेपालको समुन्नतिका लागि, परिवर्तनका लागि वातावरणको निर्माण नेताहरुको भाषणले होइन पत्रकारहरुको चिन्तनले गर्ने हो । त्यसका लागि तिखो प्रहार आवश्यक हुन्छ । साथीहरुले आत्मविश्वास राख्नुहोस् । तपाईंहरु सबैले जसरी मलाई माया गर्नुभयो, केक खुवाउनुभयो, खादामाला लगाइदिनुभयो, उपहारहरु दिनुभयो, त्यसरी नै जनतालाई सुविचारको उपहार दिनुहोस् । संघ संगठनका साथीहरुसँग हात मिलाएर बस्नु भयो भने कुनै पनि बेला जुरुक्क उठेर यहाँका दुर्जनहरुसँग लड्न सक्ने क्षमता विकसित हुनेछ । यो भन्दा बढी म भन्न सक्दिन । भन्न पनि चाहन्न । लेख्न नसक्ने भए भन्ने थिएँ । पछि भन्दै गरौंला, तपाइँहरुसँग गफ गर्दै गरौंला । मलाई माया र स्नेह दिनुभयो । दिइरहनुभएको छ, मैंले पाइरहेको छु र जीवित छु । तपाइँहरुलाई देखेपछि, तपाईहरुसँग काम गर्न मन लाग्छ । डाँडाकाँडा घुम्न मन लाग्छ । रहर जागेर आउँछ । उमेरले सबै कुरा धान्न सक्दैन । उमेरको अंक ७२ लाई उल्ट्याएर, २७ को जस्तो काम गर्ने चाहना छ ।
मेरा मित्र प्राध्यापक पी खरेल, कुशलतम पत्रकार राजेन्द्र दाहाल, मेरा मित्र तथा नेपाल पत्रकार संघलाई महासंघको आकार दिनुहुने हरिहर विरही, मेरा भाई जयप्रकाश गुप्ता र मेरा स्नेही सबै यहाँ उपस्थित हुनुहुन्छ । आदरणीय दमननाथ दाई यो सभाको अन्तिम समयमा भए पनि यहाँ आएर मलाई आशीर्वाद दिनु भएको छ । म गद्गद् छु, सबैलाई हार्दिक धन्यवाद छ । विशेष गरेर यो आयोजनाका परिकल्पनाकार भाईहरु सुवास ढकाल, विष्णु निष्ठुरी र सन्तोष आचार्यको मेहनतका लागि कृतज्ञ छु ।
(आफ्नो जन्मोत्सवको अवसरमा २०८१ जेठ २४ मा भएको शुभकामना सभामा व्यक्त विचार)
प्रतिक्रिया