Logo

मुख्य समाचार

एमाले महाधिवेशन: मतगणना सुरू



काठमाडौं । नेकपा एमालेको जारी १०औँ महाधिवेशन अन्तर्गत सम्पन्न मतदानको मतगणना सुरु भएको छ ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । तीन घण्टाभित्र परिणाम सार्वजनिक हुने बताइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको सर्वसम्मत रूपमा नेतृत्व चयनको प्रयास असफल भएपछि एमालेको ध्यक्षसहित उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्य पदका लागि मंगलबार मंगलबार बिहान ४ बजेदेखि मतदान शुरू गरिएको थियो । 

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी सचिवमा पनि ७ जनाको पदमा ९ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा मगर, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङको उम्मेदवारी परेको छ ।

सचिवतर्फ भने गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, भीम प्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको छ ।

३०१ सदस्यीय केन्द्रीय कमिटीका अधिकांश सदस्य निर्विरोध भएका छन् । केही केन्द्रीय सदस्यहरूका लागि पनि मतदान भएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ९ : ३१ बजे