Logo

Breaking News 1

यार्सा संकलन गर्न गएका चारको लेक लागेर मृत्यु



काठमाडौं । मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको हो ।

शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो । देवराज बुढाको मृत्युसँगै मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ९ : १३ बजे