Logo

मुख्य समाचार

एमाले महाधिवेशन : पदाधिकारीबाहेकमा सर्वसम्मत गराउने प्रयास



काठमाडाैं । एमाले महाधिवेशन सुरू भएकाे चाैथाे दिन बित्दा पनि नेतृत्व चयनकाे टुंगाे लाग्न सकेकाे छैन । केन्द्रीय समिति सर्वसम्मत गराउन खोज्दा निर्वाचन प्रक्रिया ढिलो भएको छ ।  केन्द्रीय समितिमा सर्वसम्मत गरेर पदाधिकारीमा मात्रै चुनाव गर्ने तयारी भएकाले ढिलाइ भएको हो ।

नेताहरुले पदाधिकारीमा मात्रै मतदान गराउने कोसिस गरिरहेका छन् । उम्मेद्‍वारी फिर्ता गराउनका लागि जनप्रतिनिधि बनाउने, टिकट दिलाउने, सरकारी नियुक्ति दिलाउनेसम्मको आश्वासन दिइरहेका छन् ।

९ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिको तयारी भए पनि नेताहरुकै कारण निर्धारित समयभन्दा ढिलो भएको हो ।

अहिलेसम्म खुला महिलातर्फ ५३ जना सर्वसम्मत निर्वाचित भएका छन् भने भूगोल अन्तर्गतको प्रदेश नम्बर २ र कर्णालीको केन्द्रिय समितिका लागि सर्वसम्मत भएको छ । सुदूरपश्चिमलगायत अन्य प्रदेशबाट उम्मेद्‍वारी दिएकाहरुलाई सर्वसम्मत गराउने कोसिस भइरहेको छ ।

१९ सदस्यीय पदाधिकारीमा १/१ वरिष्ठ उपाध्यक्ष र महासचिव, ३ उपमहासचिव पदमा सर्वसम्मत चयन भएको छ । यस्तै, १ अध्यक्ष, ५ उपाध्यक्ष, ७ जना सचिवका लागि पनि मतदान हुने भएको छ । 

साेमबार नयाँ नेतृत्वका लागि पदाधिकारीसहित केन्द्रीय समितिमा ३३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । सुब्बाका अनुसार पदाधिकारीमा २३ तथा केन्द्रीय सदस्यमा ३१० जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा दुई, वरिष्ठ उपाध्यक्षमा एक, उपाध्यक्षमा सात, महासचिवमा एक, उपमहासचिवमा तीन तथा सचिवमा नौ जनाको उम्मेदवारी परेको सुब्बाले जानकारी दिए । 

सुब्बाका अनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल तथा उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल निर्विरोध निर्वाचित भएका छन्  । 

अध्यक्षमा केपी शर्मा ओली र भीम रावल बीच प्रतिस्पर्धा हुने भएको छ । ६ जना उपाध्यक्षको पदमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।

सात जना सचिव हुने व्यवस्था भएको ठाउँमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको सुब्बाले जानकारी दिए । 


प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : ५९ बजे