Logo

राजनीति

कारबाहीको निर्णयबाट ब्याक भए राजेन्द्र लिङ्देन



काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीका तीन जना नेतामाथि भएको कारबाहीको निर्णयबाट ब्याक भएका छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्ने बहुमत केन्द्रीय सदस्यहरुले प्रेम बलायर, ऋद्दि राणा र निराजन बमलाई चार वर्षको लागि निलम्बन गर्ने अध्यक्षको निर्णय गलत भएको भन्दै तीव्र आलोचना गरेका थिए ।

साढे दुई महिनाअघि पार्टी कार्यालयमा नेता ठाकुर मोहन श्रेष्ठमाथि हातपातमा संलग्न भएको भन्दै पार्टीको अनुशासन समितिको सिफारिसमा अध्यक्ष लिङ्देनले तीनै जनालाई चार वर्षका लागि निलम्बन गर्ने निर्णय गरेका थिए ।

तर, यो निर्णयसँगै पार्टीभित्र तीव्र मतान्तर हुँदै आएको अवस्थामा हाल आएर भने समस्या नै समाधानतिर पुगेकाले निर्णय फिर्ता लिन लिङ्देन तयार भएका हुन् । सोमबार बिहान पार्टी कार्यालयमा बसेको पदाधिकारी बैकठकमा कुटपिटको घटनासम्बन्धी विषय समाधान भएकाले तीनै जनाको निलम्बन फिर्ता लिने सहमति बनेको महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।

उनीहरुको कारबाही फिर्ताको विषय केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ११ : २२ बजे