Logo

खेलकुद

सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन प्रक्रिया अघि बढ्यो



काठमाडौं । उच्च अदालत पाटनबाट सफाई पाएसँगै सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक पहल सुरु गरेको छ ।

बुधबार उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेलगत्तै निलम्बन फुकुवा गरेको क्यानले लामिछानेको फिटनेट टेस्ट गर्नेदेखि आइसीसीलाई अनुमति पत्र लेख्ने तयारी थालेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

‘हामीले सन्दीपको निलम्बन फुकुवा गरिसकेपछि उनलाई विश्वकपमा कसरी सहभागी गराउन सकिन्छ भनेर लागिरहेका छौं । यसका लागि आईसीसीसँग अनुमति माग्न पत्र पठाउनेबारे छलफल भइरहेको छ । उनको फिटनेस टेस्ट पनि हँुदैछ । केही दिन भित्रै सबै काम सकेर सन्दीपलाई अमेरिका पठाउँछौं ।’

नेपालले टी–२० विश्वकप खेल्ने आफ्नो १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । रोहितकुमार पौडलको कप्तानीमा रहेको टोली अहिले अमेरिकामा अभ्यास खेलहरु खेलिरहेको छ ।

स्रोतका अनुसार क्यानले टिम घोषणा गर्दा नै पछि सन्दीपलाई समावेश गर्न सकिने मनसायले अतिरिक्त बलर राखेको थियो । १५ सदस्यीय टिममा अहिले ६ जना फास्ट बलर छन् । अनुभवी सोमपाल कामी र करण केसी पहिलो रोजाइका बलर हुन् ।

१० जना रिजर्भ खेलाडी समेत अमेरिका पठाइसकेको नेपालले सन्दीपलाई टोलीमा समावेश गर्न एक जना आउट गर्नुपर्ने हुन्छ । कसलाई बाहिर गर्ने भन्नेबारे कोच र कप्तानसहितले निर्णय गर्ने चन्दले बताए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  २ : ५८ बजे