Logo

राजनीति

जसपाको निष्कर्ष: प्रचण्डले सरकार टिकाउन हाम्रो पार्टी फुटाए, समाजवादी मोर्चाको औचित्य छैन



काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार टिकाउनकै लागि आफ्नो पार्टी फुटाएको निष्कर्ष निकालेको छ।

मङ्गलवार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विभाजन गर्नेहरूको तल्लो तहसम्म भण्डाफोर गर्ने निर्णय गरेको प्रवक्ता मनिष सुमनले बताए।

उनले पार्टी विभाजनको पक्षमा गर्ने ७ सांसदसहित साथ दिने सबैलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको बताए। बैठकमा बोल्ने ७० जनाभन्दा धेरै नेताहरूले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले नै पार्टी फुटाएको धारणा राखेको सुनाए।

उनले चार दल सम्मिलित समाजवादी मोर्चाको अब कुनै औचित्य नभएको बताए।

जसपाको महाधिवेशन जेठ २८ देखि ३० गतेसम्म हुँदैछ। पार्टी महाधिवेशनतर्फ अग्रसर भइरहेको बेलामा गत साता असोश राई नेतृत्वमा जसपा नेपाल विभाजित भएर जसपा गठन भएको छ।

पार्टी विभाजनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध उपेन्द्र यादव अदालतसमेत गएका छन्। त्यसको आज सुनुवाइ भइरहेको छ। तर, नेकपा एसका अध्यक्ष माधव नेपाल र उपेन्द्र कांग्रेससँग मिलेर प्रचण्ड सरकार ढाल्न खोजेपछि अशोकलाई उपयोग गरेर जसपा नेपाल विभाजन गराइएको आरोप छ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  १ : ०१ बजे