Logo

राजनीति

राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिने कांग्रेसको निर्णय, त्यसपछि अवरोध



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्न दिने भएको छ । आज बिहान सिंहदरबारस्थित दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने रणनीति तय गरिएको हो ।

त्यसपछिका अरू संसदीय प्रक्रिया अघि बढाउन नदिने रणनीति तय गरिएको एक सांसदले जानकारी दिए । बैठक जारी छ ।

सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठन गर्नुपर्ने माग गरिरहेको छ । लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाइएसम्म संसद् बैठक चल्न नदिने कांग्रेसको अडान छ ।

आजै बिहान कांग्रेसका नेतालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा संसद् अवरोध नगर्न अनुरोध गरेका थिए ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् । त्यसका निम्ति दिउँसो ३ बजे बस्ने गरी संसद्को संयुक्त बैठक तय गरिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ११ : ०१ बजे