काठमाडौं । राष्ट्रिय योजना आयोगको दिगो विकास लक्ष्य प्राप्तिमा नेपालले हालसम्म करिब ४३ प्रतिशत प्रगति हासिल गरिसकेको जनाएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपाल पूर्णरुपमा प्रतिबद्ध रहेको र निर्धारित लक्ष्य प्राप्त गर्न संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहका सरकारले भूमिका निभाइरहेको बताए ।
‘दिगो विकास लक्ष्यको स्थानीयकरण भएको छ । आवधिक योजना, मध्यमकालीन खर्च संरचना तथा वार्षिक नीति तथा कार्यक्रम र बजेटले दिगो विकास लक्ष्यसम्बन्धी विषयलाई प्राथमिकताका साथ समेटेका छन् । दिगो विकास लक्ष्य प्राप्तिसँग जोडिएका योजना तथा कार्यक्रमको अनुगमन तथा मूल्यांकनको काम प्रभावकारी ढङ्गले भएको छ’, उनले भने ।
दिगो विकास लक्ष्य प्राप्तिमा नेपालले गरिरहेको काम र नतिजाको समीक्षा, अरु देशका राम्रा अभ्यास, विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय तथा सहाकार्य र राय सुझाव लिनका लागि आयोजित कार्यशाला श्रेष्ठले त्यस्तो जानकारी दिएका हुन् ।
नेपालले आगामी असार (जुलाई) महिनाभित्र दिगो विकास सम्बन्धी ‘राष्ट्रिय स्वेच्छिक समीक्षा’ (भोलन्टरी नेशनल रिभ्यु–भिएनआर) प्रतिवेदन तयार पारी संयुक्त राष्ट्रसंघ (युएन)अन्तर्गतको उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा प्रस्तुत गर्ने पनि उनले जानकारी गराए ।
दिगो विकास लक्ष्यका सम्बन्धमा नेपालले सन् २०२३ सम्ममा हासिल गरेका उपलब्धिको समीक्षा र अबको कार्यदिशाबारे राय–सुझाव लिन चाहेको पनि अध्यक्ष श्रेष्ठले बताए । यसअघि नेपालले पहिलोपटक सन् २०१७ र दोस्रोपटक सन् २०२० मा समीक्षा गरेको थियो । अबको छ महिनाभित्रका तेस्रोपटक समीक्षा गरिने आयोगले जनाएको छ ।
आगामी आर्थिक वर्ष २०८१÷०८२ बाट लागू हुनेगरी तयार भइरहेको १६औं पञ्चवर्षीय आवधिक योजनाले पनि अतिकम विकसित मुलुकबाट स्तरोन्नति र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पूरा गर्ने लक्ष्यसहित कार्ययोजनासहित मस्यौदा तयार भइरहेको श्रेष्ठले बताए ।
दिगो विकाससम्बन्धी तेस्रो राष्ट्रिय स्वेच्छिक समीक्षा तयार गर्नका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा रहेको दिगो विकास कार्यान्वयन तथा अनुगमन समितिले काम गरिरहेको छ ।आयोगको आर्थिक व्यवस्थापन महाशाखाले सचिवालयको रुपमा काम गरिरहेको छ ।
नेपालले यो प्रतिवेदन आगामी जुलाईमा सयुक्त राष्ट्रसंघ अन्तर्गतको उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा प्रस्तुत गर्ने पनि उपाध्यक्ष श्रेष्ठले बताए । संयुक्त राष्ट्रसंघको नेपालका लागि आवासीय संयोजक हाना सिङ्गर हाम्डीले दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपालले गरिरहेका कामको प्रशंसा गर्दै थप प्रगतिमूलक नतिजाका लागि प्रयास गर्नुपर्ने बताए ।
प्रतिक्रिया