Logo

राजनीति

एकीकृत समाजवादीले माग्यो आफ्ना मन्त्रीसँग प्रगति विवरण



काठमाडौं । एकीकृत समाजवादी पार्टीले सरकारमा मन्त्री भएका आफ्ना नेताहरुलाई तुरुन्तै आफ्नो काम र प्रगतिको विवरण बुझाउन निर्देशन दिएको छ ।
पार्टी कार्यालय आलोकनगरमा सोमबार भएको पार्टीको सचिवालयको बैठकले मन्त्रीहरुलाई तुरुन्तै आफ्नो प्रगतिको विवरण बुझाउन निर्देशन दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।उनले भने, ‘सरकारमा हाम्रो पार्टीको तर्फबाट जानुभएका मन्त्रीहरुले आजसम्म के कस्ता कामहरु गर्नुभएको छ, कस्तो प्रगति भएको छ ? यसको विवरण पार्टीलाई तुरुन्तै बुझाउन दिर्नेशन दिइएको छ ।’


प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद्मा एकीकृत समाजवादीबाट दुई जना मन्त्री छन् । वेदुराम भुसाल कृषि र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन् । दुवैको मन्त्रालय उल्लेख्य काम गर्न नसक्नेमा परेको भन्दै विभिन्न क्षेत्रबाट निरन्तर आलोचना भइरहेको छ । पार्टीले प्रगति विवरण अध्ययन गरेर दुवैको कार्यक्षमता मूल्यांकन गर्ने संकेत गरेको छ ।
प्रवक्ता खतिवडाले विभिन्न देशसँग नेपाली प्राकृतिक स्रोत साधन, ऊर्जा, जलस्रोत आदि क्षेत्रका बारेमा गरेका सम्झौता र सर्तको कागजात सरकारसँग माग गर्ने र पार्टीले अध्ययन गर्ने पनि निर्णय भएको बताए ।


उनले भने, ‘नेपाल सरकारले विभिन्न देशसँग नेपालको प्राकृतिक स्रोतसाधन, ऊर्जा, जलस्रोत जे जस्ता कुराको बारेमा जेजे सम्झौता गरिएको छ, सर्त के–के राखिएको छन्, यी सबै कुराको डकुमेन्ट नेपाल सरकारसँग माग गर्ने र पार्टीले अध्ययन गरेर निष्कर्ष निकाल्ने निर्णय गरेका छौं ।’
साथै बैठकले राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि सबैलाई आह्वान गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ३ : २० बजे