Logo

मुख्य समाचार

कृषिमा आधुनिकीकरणका योजना सुस्त 



काठमाडौं । राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा बिहीबार राजधानीमा भविष्यको उन्नत बाली सम्बन्धी वृहत् छलफल र प्रदर्शन भएको छ ।

कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल कृषि प्रधान मुलुक भएकाले कृषिका योजना सधैं प्राथमिकतामा रहेको बताए । हावापानी सुहाउँदा बालीका लागि विभिन्न योजनाहरु बने पनि अपेक्षाकृत रुपमा उत्पादन लिन नसकिरहेको अवस्था उनले औल्याए ।

‘धान र दाल प्रमुख बाली छन् । कोदो, जौ सहायक बालीका रुपमा छन् । हाम्रो खेती प्रणाली अझै पनि परम्परागत छ, जसलाई व्यावसायिक बनाउनुपर्ने चुनौती छन्,’ उनले भने, ‘कृषिमा आधुनिकीकरणका लागि प्रधानमन्त्री कृषि आधुनकिीकरण कार्यक्रम छ । यसले १७७ जोन र १६ सुपर जोन तोकेर काम गरिरहेको छ । धान, गहुँ, मकै र आलुमा मुख्य जोड छ । मसला बालीमा पनि जोड दिइएको छ । बालीहरुमा सम्भावनाअनुसार विविधीकरण आवश्यक देखिएको छ ।’

दिगो कृषिका लागि हामीले परम्परागत छाडेर व्यावसायिक खेतीमा जोड दिनै पर्ने उनले बताए । सम्भावना भएर पनि उत्पादन बढाउन नसक्दा कृषि उपजमा मुलुक आयातमा निर्भर रहनुपरेको उनले उल्लेख गरे । खाद्य तथा कृषि संगठनले वर्गीकरण गरेका धेरै बालीको सम्भावना नेपालमा रहेको उनले बताए ।

कार्यक्रममा कृषि मन्त्री वेदुराम भुसालले नेपाल कृषिमा धेरै सम्भावना भएको मुलुक रहेको बताए । तर, कृषिमा जलवायु परिवर्तनले चुनौती बढाएकाले अपेक्षित उत्पादन लिन नसकेको अवस्था रहेको उनले बताए ।

‘हामीले २०२३ मै कोदो बालीको सम्भावनाबारे आफ्ना भनाइ बाहिर ल्याएका छौं,’ उनले भने, ‘थुप्रै बाली नेपालमा उत्पादन बढाउन सकिने सम्भावना छन् । खाद्य सुरक्षा र पोषणका सवालमा सरकार संवेदनशील छ ।’ माटो, पानी र ऊर्जाका सवालमा सरकारले सम्भावनाअनुसारका योजना अघि सारेको उनले बताए ।

‘हामी भविष्यमा सम्भावना भएका बाली प्रवर्धन र पशुपालनका कार्यक्रम अघि बढाउँछौं,’ उनले भने, ‘जलवायु परिवर्तनका असरलाई ध्यानमा राखेर खाद्य सुरक्षा र बाली प्रवर्धनका योजना अघि बढाउने चुनौती छन् ।’

सरकार यसबारेमा गम्भीर रहेको उनले बताए । कार्यक्रममा मुलुकका विभिन्न जिल्लाका बाली प्रविधिको प्रदर्शनी पनि गरिएको थियो । अतिथि र सहभागीहरुले स्टलहरु अवलोकन गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ६ : २७ बजे