काठमाडौं । अमेरिकाको आयोवाको एक विद्यालयमा १७ वर्षीय बालकले गोली चलाउँदा एक बालकको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार, आक्रमणका अभियुक्त पनि मृत फेला परेका छन् । उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको हुन सक्ने अधिकारीहरुले आशंका गरेका छन् ।
पब्लिक सेफ्टी डिभिजन अफिसर मिच मोर्टवेटले बिहीबार भएको गोलीकाण्डमा पेरी स्कूलका प्रिन्सिपललाई पनि गोली लागेको बताएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य चार जनाको अवस्था स्थिर रहेको छ ।
अमेरिका नागरिकहरूको हतियार राख्ने सन्दर्भमा विश्वको अग्रणी स्थानमा रहेको देश हो । स्विट्जरल्याण्डको स्मॉल आर्म्स सर्भे वा एसएएसको प्रतिवेदन अनुसार विश्वमा रहेको कुल ८५ करोड ७० लाख नागरिकसँग बन्दुक रहेकोमा अमेरिकाका ३९ करोड ३० लाख नागरिकसँग बन्दुक छ ।
अमेरिकाले विश्वको जनसंख्याको ५ प्रतिशत ओगटेको छ, तर अमेरिकामा मात्रै विश्वको कुल नागरिक बन्दुकको ४६ प्रतिशत छ । अक्टोबर २०२० ग्यालप सर्वेक्षण अनुसार, ४४ प्रतिशत अमेरिकी वयस्कहरू बन्दुक भएको घरमा बस्छन् ।
यी मध्ये एक तिहाइ वयस्कहरूसँग बन्दुकहरू छन् । २०१९ को रिपोर्ट अनुसार अमेरिकामा ६३ हजार लाइसेन्स गन डीलरहरू छन् । उनीहरुले त्यतिबेला अमेरिकी नागरिकहरूलाई ८३ हजार करोड मूल्यको बन्दुकको ब्यापार गरेका थिए ।
२३१ वर्ष बितिसक्दा पनि अमेरिकाले आफ्नो बन्दुक संस्कृति अन्त्य गर्न सकेको छैन । यसका दुईवटा कारण छन्। पहिलो– राष्ट्रपतिदेखि राज्यका गभर्नरसम्म धेरै अमेरिकीहरूले यो संस्कृति कायम राख्ने वकालत गर्दै आएका छन् । दोस्रो, बन्दुक उत्पादन गर्ने कम्पनीहरू अर्थात् बन्दुक लबी पनि यस संस्कृतिको अस्तित्वको मुख्य कारण हुन् ।
१७९१ मा संविधानको दोस्रो संशोधन अन्तर्गत, अमेरिकी नागरिकहरूलाई हतियार राख्न र खरिद गर्ने अधिकार दिइएको थियो । यो संस्कृति अमेरिकाबाट सुरु भएको थियो जब त्यहाँ ब्रिटिश शासन थियो। त्यसबेला स्थायी सुरक्षा बल थिएन । त्यसैले जनतालाई आफ्नो र परिवारको सुरक्षाका लागि हतियार राख्ने अधिकार दिइएको थियो । तर यो कानुन आज पनि कायम छ र यसको दुरुपयोग अहिले पनि भइरहेको छ ।
प्रतिक्रिया