Logo

Breaking News 1

बालकुमारी घटनाबारे छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन



काठमाडौँ । सरकारले ललितपुरको बालकुमारी घटनाबारे छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आयोगको सदस्यहरूमा पूर्व एआईजी अरुणकुमार बीसी र गृहका सहसचिव नारायणप्रसाद भट्टराई छन् । मन्त्रिपरिषद्ले एक महिनाका लागि समय दिएर गठन गरेको आयोगलाई घटनामा भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन विश्लेषण गर्ने, घटनासँग सम्बन्धित व्यक्तिहरूको भूमिका विषयमा सोधपुछ र विश्लेषण गर्ने र दोषी देखिएका व्यक्तिहरूलाई कारबाहीका लागि सिफारिस गर्ने कार्याधिकार दिएको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले घटनाबारे छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो । गत शुक्रबार कोरियन भाषा परीक्षाका लागि आवेदन दिन पाउनुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका युवाहरूमाथि प्रहरीले अनावश्यक बल प्रयोग र गोली प्रहारबाट अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने सरकारी गाडीमाथि आगजनी भएको थियो । घटनाबारे छानविन गर्न सरकारले तत्काल डिआइजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो ।

तर पीडितहरूले भने न्यायिक छानविनको माग गर्दै मृतकको शवसमेत बुझेका छैनन् । ८ बुँदै माग राखेर आन्दोलनमा उत्रिएका उनीहरूले दोषीमाथि कारबाही नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिँदै आएका छन् ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ९ : ५१ बजे