काठमाडौँ। नेपालमा सफलतापूर्वक प्रदर्शन भएको चलचित्र ‘बगान’ को संयुक्तराज्य अमेरिकामा प्रदर्शन प्रारम्भ भएको छ । नेपालमा यस वर्षको बैशाख १ गते प्रदर्शन भएको फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा अप्रत्यासित रुपमा १७ करोडमाथिको कमाई गर्याे । त्यसपछि सबैभन्दा बढी कमाई गर्ने दोस्रो नम्बरमा रहेको चलचित्र ‘बगान’ को अमेरिका प्रदर्शनमा गीतकार तथा निर्माता सुरेश वाग्ले, निर्देशक सरोज खनाल र अभिनेत्री प्रमिला कार्की सहभागी भइरहेका छन् ।
अगस्टको अन्तिमसाता देखि प्रदर्शन सुरु गरिएको चलचित्र अधिकाँस सहरमा देखाईने गीतकार वाग्लेले जानकारी दिए । उनले भने,‘हामीले अधिकाँस सहरमा प्रदर्शन तय गरिसकेका छौँ । नेपाल झैँ यहाँ पनि विभिन्न शोमा पुगेर दर्शक प्रतिक्रिया लिने छौँ ।’ चलचित्रको टिमले नेपालमा दर्शकमार्फत् सकारात्मक प्रतिक्रिया बटुलेको थियो । फिल्म हेर्ने एकल महिला तथा आमाले आफ्नो कथा पर्दामा देखिएको भन्दै आँसु बगाएका थिएँ ।
उनका अनुसार चलचित्र ‘बगान’ ओहायोको फिल्ड र नर्थ क्यारोलिनाको ग्रीन्सबोरोमा अगस्ट ३१ सम्म हलमा प्रदर्शनरत छ । भर्जिनियामा सेप्टेम्बर १०, कोलोराडोमा सेप्टेम्बर १७, चार्लोटमा सेप्टेम्बर २४ र नेवार्क डेलावेयरमा ओक्टोबर १ मा प्रदर्शन तय भएको छ । यस्तै, टोरोन्टो क्यानाडामा सेप्टेम्बर २ मा प्रदर्शन हुँदै छ । यसबाहेक न्युयोर्क, डालास, ह्युस्टन, अस्टिन, लस एञ्जल्स, क्यालिफोर्निया, ह्यारिसवर्ग, एटलान्टा लगायतका सहरमा समेत छिटै प्रदर्शन हुने गीतकार वाग्लेले जानकरी दिए ।
अभिनयमा तीन दशकदेखि सक्रिय अभिनेता सरोज खनालले निर्देशन गर्नुभएको फिल्मले एकल महिलाको कथालाई उठाएको छ । सरोज खनालसहित करिश्मा मानन्धर, प्रमिला कार्की, नीर शाह, आकाश श्रेष्ठ, मिथिला शर्माको फिल्ममा अभिनय छ । यसै फिल्ममार्फत अभिनयमा डेब्यु गर्नुभएकी अभिनेत्री कार्कीले सर्वत्र प्रसंशा बटुलेकी छिन् ।
स्वप्निल नीरवको कथामा आधारित रहेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।
ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।
प्रतिक्रिया