काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन अन्त्य भएको छ ।
सरकारको सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संसदको चालू अधिवेशन अन्त्य गरेका हुन् । त्यसअघि आजको संसद बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयमा मतभेद हुँदा संसद बैठक नै प्रभावित बनेको थियो ।
सभामुख देवराज घिमिरेले संसद बैठकमा अनुपस्थित रहने सांसदहरुको नामावलीबारे सूचना पढ्दै फरार रहेका सांसद कोइरीलाई समेत विरामी भएको बताएपछि संसद अवरुद्ध भएको थियो । बेलुका ८ बजे बस्ने भनिएको बैठक राती १० बजे बसेको थियो ।
संसदको चालू अधिवेशनको पहिलो बैठक २०७९ साल पुस २५ गते सोमबार शुरु भएको थियो । २०८० साल वैशाख १५ गते शुक्रबारसम्म जम्मा ११० दिन अधिवेशन चालु रह्यो । जसमध्ये २८ दिनहरुमा २८ पटक बैठक बसी जम्मा ९१ घण्टा ३० मिनेट ससंदीय काम कारवाहीमा व्यतित भयो । साथै २०७९ साल माघ २७ गते संघीय संसदको संयुक्त सदनको एउटा बैठक बसी ५० मिनेट समय व्यतित भयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले २०७९ पुस २६ गतेको सभाको बैठकमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न राखेको प्रस्तावको पक्षमा २६८ मत परि प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएको थियो । त्यसैगरी दाहालले २०७९ चैत ६ गतेको सभाको बैठकमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न राखेको प्रस्तावको पक्षमा १७२ मत परि प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएको थियो ।
प्रतिनिधि सभामा उत्पत्ति भएको “सम्पत्ति सुृद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायीक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९”, “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” र “वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्य भयो ।
राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा प्राप्त अनुगमन तथा मुल्यांकन विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रशारण विधेयक, सुरक्षण मुद्रण सम्बन्धी विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्य भएको छ भने भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक माथि सभामा सैद्धान्तिक छलफल भैसकेको अवस्था छ ।
प्रतिनिधि सभाको चालू अधिवेशनमा मा० सदस्यहरुबाट दर्ता हुन आएका विभिन्न मन्त्रालयसँग सम्बन्धित ५५ वटा मौखिक प्रश्नहरु प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ४५ बमोजिम टेबुल भएको छ ।
प्रतिक्रिया