काठमाडौं । सभामुख देवराज घिमिरेले प्रहरीको फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी बिरामी भएको जानकारी दिएपछि संसदमा हंगामा भएको छ ।
१० भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुकाबारे सूचना दिने क्रममा सभामुख घिमिरेले कोइरी बिरामी भएकाले बैठकमा उपस्थित हुन नसकेको बताएपछि कांग्रेस, माओवादी, रास्वपा, राष्ट्रिय जनमोर्चाका सांसदहरुले आपत्ति जनाएका थिए । कांग्रेसका रमेश लेखकले ‘बिरामी’ शब्द रेकर्डबाट हटाउन माग गरे ।
यसपछि रास्वपाका रवि लामिछानेले कोइरी बिरामी नभएको र भागेर भारत गएको प्रमाण आफुसँग रहेको भन्दै जोगाउने प्रयास नगर्न भने । जवाफमा एमाले सांसद रघुजी पन्तले पनि कुनै पनि अपराधिलाई जोगाउने पक्षमा एमाले नरहेको भन्दै सरकारले पक्राउ गर्न नसकेको विषयमा संसद अवरोध गर्नु गाइजात्रा भएको बताए ।
तर, सभामुख घिमिरेले सांसद कोइरी ‘बिरामी’ भएर बैठक अनुपस्थित भएको रेकर्डबाट हटाउन रुलिङ गर्न मानेनन् । त्यसपछि बैठकमा हंगामा भएको हो ।
उच्च अदालतले फौजदारी अभियोगमा लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न आदेश दिएको भएपनि अहिलेसम्म पक्राउ परिसकेका छैनन् ।
प्रतिक्रिया