काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैया घुस मागेका विषय संसदमा समेत उठेको छ ।
सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी प्रसाईसँग घुस मागेका विषयमा छानविन गर्न संसदीय समिति गठन गर्न समेत माग गरेका छन् । यता घुस मागेका श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्पष्टिकरण बुझाएका छन् ।
उनले बुझाएको स्पष्टिकरणमा अडियो सम्पादन गरेको दाबी गरेका छन् । यद्यपी मंगलबार बिहान अनुशासन समितिको बैठक बसेर आवश्यक निर्णय लिने रास्वपाको तयारी छ । त्यसोत यसअघि रास्वपाबाट मन्त्री बनेका डोलप्रसाद अर्याल आफै म्यानपावर व्यवसायी रहेको भन्दै आलोचना भएको थियो ।
तर त्यसबेलामा भने सभापति रवि लामिछानेले समेत अर्यालको बचाउ गरेका थिए । अर्कातर्फ लामिछाने आफै नागरिकता प्रकरणमा दोषी ठहर भएपछि सांसद पद समेत गुमेको थियो । अहिले समेत लामिछानेको दोहोरो पासपोर्टका बारेमा सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनुवाईको क्रम जारी छ ।
प्रतिक्रिया